काठमाडौं - उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले शैक्षिक क्षेत्रमा उपलब्ध अवसरको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल विद्यार्थी संघ पाटन संयुक्त क्याम्पस इकाईद्वारा बुधवार आयोजित नवआगन्तुक विद्यार्थीलाई स्वागत, पुस्तकालय हस्तान्तरण तथा बृहत् सांस्कृतिक कार्यक्रममा मन्तव्य राख्दै उपप्रधानमन्त्री सिंहले नेपालमै रहेर यहाँका विद्यालय, क्याम्पस र विश्वविद्यालयमा अध्ययन गरेर आफ्नो जीवनको लक्ष्य हासिल गर्न आग्रह पनि गरे ।
सिंहले भने, 'हाम्रो देशमा शिक्षाको गुणस्तरलाई प्रश्न गरिन्छ, तर अहिले नेपालमै बसेर प्रविधिको उपयोग गरेर विभिन्न बिषयमा अध्ययन गर्ने अवसर धेरै छन्, यसलाई तपाईंहरुले अधिकतम् उपयोग गर्नुपर्छ।'उनले नेपालका विद्यालय, क्याम्पस र विश्वविद्यालयमा अध्ययन गरेर आफ्नो जीवनको लक्ष्य प्राप्त गर्न विद्यार्थीलाई प्रेरित गरे।
पाटन संयुक्त क्याम्पसको पूर्वाधार सुधारको लागि उपप्रधानमन्त्री सिंहले क्याम्पस प्रमुख र विद्यार्थी प्रतिनिधिहरूसँग छलफल गर्दै बजेट व्यवस्थापन र समाधानको लागि प्रतिबद्धता जनाए।
कार्यक्रममा पाटन संयुक्त क्याम्पसको पुस्तकालय पुनर्निर्माणको उद्घाटन पनि गरिएको छ। वि.सं. २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको पुस्तकालय भवनलाई मर्मत, रंगरोगन र सजावट गरी पुनर्निर्माण गरिएको हो। उक्त पुस्तकालय अब विद्यार्थीहरुको अध्ययनका लागि तयार छ।
यस अवसरमा, राष्ट्रिय सभा सदस्य जितजंग बस्नेत, क्याम्पस प्रमुख डा. रघुविर विष्ट, नेविसंघ केन्द्रीय अध्यक्ष डुजाङ शेर्पालगायतले सम्बोधन गरे। क्याम्पस इकाई अध्यक्ष तारा शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कलाकार विमलराज क्षेत्री र सन्दिप क्षेत्रीले सांस्कृतिक प्रस्तुति दिएका छन् ।
प्रतिक्रिया