आमाको रुँदा थाकिसके आँखा, तर छोरीको शव अझै आउँदैन

एक आमाको पीडा, जसको आँसु १० महिनादेखि ओभाएको छैन

विहीबार, ०१ फागुन २०८१, ०५ : ४७

काठमाडाैं- नवलपरासी (बर्दघाट सुस्तापूर्व)की ७० वर्षीया धनमाया सार्कीका आँखा १० महिनादेखि सुकेको छैन। आँसु पनि कति झर्ने? अब त पोखिने आँसु पनि सकिन लाग्यो होला, तर पीडाले भने अझै जलाइरहेकै छ।

१० महिनाअघि रोजगारीका लागि मलेसिया गएकी छोरी तिलमायाको हत्या भएको खबर आएको थियो। आमाको मुख हेर्ने दिन वैशाख २६ गते छोरीको फोन आयो- "आमा, तपाईंलाई धेरै सम्झना छ। अब चाँडै नेपाल आउने सोच्दैछु।" त्यो फोन नै अन्तिम बन्यो। त्यसको एक हप्तापछि अर्को फोन आयो, तर यो पटक छोरीको आवाज होइन, मलेसियाबाट सुन्नुपर्‍यो- "तपाईंकी छोरी अब यो संसारमा छैनन्।"

अनि, त्यो दिनदेखि धनमायाको आँखा कहिल्यै ओभाएको छैन।

छोरी श्रीमान्सँग सम्बन्धविच्छेदपछि आमाको काखमा छोरी छाडेर मलेसिया उडेकी थिइन्। सोचेकी थिइन्- "धेरै दुःख देखेँ, अब छोरीको भविष्य राम्रो बनाउँछु।" तर नियतिले अर्कै खेल खेलिदियो। न छोरी बचिन्, न त उनी आफैं बाँच्न पाइन्। अहिले वृद्ध आमा र छ वर्षीया नातिनीले शव आउला कि भनेर आशैआशमा १० महिना बिताइसके।

धनमाया आमा भने यो १० महिनायता दिनदिनै वडा कार्यालय, नगरपालिका धाइरहेकी छिन्। कागजातहरू, निवेदनहरू, प्रमाणपत्रहरू- सबै बुझाइसकिन्, तर अझै छोरीको शव आएको छैन। राहत त परको कुरा।

"शव आउला भनेर १० महिना बितिसक्यो, तर न शव देख्न पाइयो, न राहत हात पर्‍यो। म यो नातिनी लिएर अझै कहाँ कहाँ धाउनुपर्ने हो, मेसो पाउन सकेको छैन," धनमायाको चर्को गुनासो छ।

तिलमायाको हत्या भएको खबर आउँदा साथ परिवारले सबै कागजात सुरक्षित आप्रवासन केन्द्रमार्फत मलेसियामा बुझाएको थियो। तर अहिलेसम्म शव नेपाल आउन सकेको छैन। कारण? मलेसियन दूतावास भन्छ- "अध्ययन पूरा नगरी शव पठायौं भने अनुसन्धानमा समस्या आउँछ।" मुद्दा चलिरहेको छ, शव पहिचान नै ढिलो भयो रे, मृत्यु प्रमाणपत्र अस्पतालले दिन मानिरहेको छैन रे- अनि, यो ‘रे’ भन्ने कुराले नै बाँचेकाहरू मर्न लागिसके।

वैदेशिक रोजगार बोर्डका प्रवक्ता टीकाराम ढकालका अनुसार तिलमायाको हत्या आरोपमा एक पाकिस्तानी युवामाथि मुद्दा दायर गरिएको छ। "शव पहिचान गर्न लामो समय लाग्यो, अहिले अस्पतालमै छ। नेपाल ल्याउन पहल गर्दा अस्पतालले मृत्यु प्रमाणपत्र दिन मानेको छैन।"

अब भन्नुस्, धनमायाजस्ता वृद्ध आमाहरू कहाँ धाउन? कति धाउन? छोरी गइन्, कागज मिलाइयो, फाइल अघि बढाइयो, तर शव अझै विदेशमै अलपत्र।

सुरक्षित आप्रवासन केन्द्रका तथ्याङ्कअनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व)बाट वैदेशिक रोजगारीमा गएका १८ जनाको यस आर्थिक वर्षमा मृत्यु भइसकेको छ। तीमध्ये तीन जनाको शव अझै नेपाल आइपुगेको छैन।

धेरैका छोराछोरी पैसा कमाउन विदेश उड्छन्, सपना बोकेर। तर कतिका लागि ति सपना बाकसमा बन्द भएर आउँछन्, कतिका लागि ती बाकस पनि आउँदैनन्।

धनमायाले अझै विश्वास गर्न सकेकी छैनन्- छोरी फर्केर आउँदिनन् भनेर। अझै आँगनबाट बाहिर निस्कँदा छोरी फर्किने बाटोतिर आँखा जान्छ। तर बाटो सुनसान छ। उता विदेशमा मुद्दा चल्दैछ, यहाँ वृद्ध आमा आफ्नो नातिनीलाई लिएर दिनदिनै ढोका ढक्ढक्याइरहेकी छिन्।

अब उनको प्रश्न छ- "के न्यायको शव पनि विदेशमै गाडिन्छ?"

विहीबार, ०१ फागुन २०८१, ०५ : ४७

प्रतिक्रिया