जनयुद्धको ३० औं वर्षगाँठ: संघर्ष, बलिदान र अग्रगमनको यात्रा

विहीबार, ०१ फागुन २०८१, ०७ : ४१

काठमाडाैं- तीस वर्षअघि आजकै दिन, २०५२ फागुन १ गते, नेपाली जनताले अन्याय, शोषण र दमनविरुद्ध ऐतिहासिक विद्रोहको बिगुल फुकेका थिए। जनयुद्धका रूपमा परिचित त्यो आन्दोलनले हजारौं सपनाको बलिदान माग्यो, तर नेपाली राजनीतिको इतिहासलाई नै नयाँ दिशा दिन सफल भयो। यसै ऐतिहासिक दिनको अवसरमा पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण नेपाली जनतालाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।

विज्ञप्तिमा प्रचण्डले जनयुद्धका क्रममा अमूल्य जीवन बलिदान गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली, बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान, र घाइते योद्धाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, उनले जनयुद्ध किन आवश्यक थियो र यसले के उपलब्धि हासिल गर्यो भन्ने सन्दर्भमा विशेष जोड दिएका छन्।

तीन दशकअघि नेपालमा सामाजिक, आर्थिक र राजनीतिक विभेद चरम सीमामा थियो। दलित, महिला, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु लगायतका समुदायमाथि शोषण र अन्याय संस्थागत रूपमा कायम थियो। एक सानो समूहले सिंगो देशमाथि शासन गर्ने सामन्ती प्रणालीको अन्त्यबिना आमूल परिवर्तन सम्भव थिएन। त्यही यथास्थितिवादविरुद्ध प्रतिरोधकै रूपमा जनयुद्धको उदय भएको प्रचण्ड बताउँछन्।

उनले भनेका छन्, इतिहासमै पहिलो पटक युगौँदेखि दबाइएका वर्ग र समुदायहरूले आफ्ना अधिकारका लागि सामूहिक संघर्ष गरे। यदि नेपाली जनताले प्रतिरोध नगरेका भए, आज पनि मुलुक सामन्ती जकडबन्दीमै रहने थियो।

जनताको संघर्षकै कारण राजतन्त्र समाप्त भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना सम्भव भएको प्रचण्ड बताउँछन्। जनयुद्धकै उपलब्धिका रूपमा संविधानसभाबाट संविधान निर्माण, संघीयता, समावेशी शासन प्रणाली, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षता, र महिलाको सुनिश्चित सहभागिता जस्ता महत्वपूर्ण परिवर्तनहरू आएको उनको धारणा छ।

उनले भनेका छन्, एक समय सिंहदरबारका सत्तासीनहरूको हातमा सीमित शक्ति आज गाउँगाउँमा पुगेको छ। संघीयता कार्यान्वयनमा आएको छ, तीन तहका सरकार स्थापना भएका छन्। जनयुद्धकै कारण शोषित र उपेक्षित समुदायले राज्यसत्तामा आफ्नो उपस्थिति बनाउन सफल भएको उनको दाबी छ।

तर, उनले व्यवस्था परिवर्तनले मात्रै पूरा क्रान्ति सम्पन्न नहुने उल्लेख गर्दै अझै पनि धेरै कार्यभार पूरा गर्न बाँकी रहेको बताएका छन्। संविधानले दलित, महिला, मधेसी, जनजाति लगायतका अधिकार सुनिश्चित गरे पनि व्यवहारमा विभेद अझै कायम रहेको उनले औंल्याएका छन्। संघीयता पूर्ण रूपमा संस्थागत हुन नसकेको र समावेशिता वास्तविक रूपमा कार्यान्वयन हुन नसकेकोप्रति उनले चिन्ता व्यक्त गरेका छन्।

हामी क्रान्तिको शान्तिपूर्ण मोर्चामा छौं। उपलब्धिहरूलाई संस्थागत गर्दै समाजवादी क्रान्तिको तयारीमा अघि बढ्नु आवश्यक छ, प्रचण्डले भनेका छन्। समाज रूपान्तरणका बाँकी कार्यभार पूरा गर्न सुशासन, सामाजिक न्याय र समृद्धिका लागि सबै एकजुट हुनुपर्ने उनको आग्रह छ।

महान जनयुद्ध जिन्दावाद! समाजवादी क्रान्ति जिन्दावाद! भन्दै प्रचण्डले जनयुद्ध दिवसको अवसरमा सम्पूर्ण नेपाली जनसमुदायलाई ऐतिहासिक जिम्मेवारी पूरा गर्न आह्वान गरेका छन्।

विहीबार, ०१ फागुन २०८१, ०७ : ४१

प्रतिक्रिया