काठमाडाैं- सिमकोट विमानस्थलको नयाँ निर्माण गरिएको एप्रोन (ट्याक्सी वे) हस्तान्तरण हुन नपाउँदै प्वाल परेपछि विकासका नाममा भएको हतारहतार र गैरजिम्मेवारीपन फेरि एकपटक सतहमा आएको छ। "बनेपछि भत्किन्छ, भत्किएपछि फेरि बनाइन्छ" भन्ने नेपाली निर्माणशैलीको शान झल्काउँदै, यो एप्रोनले उद्घाटनभन्दा पहिला नै आफ्नो ‘गुणस्तर परीक्षण’ गराइसकेको छ।
नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक महेन्द्रबहादुर सिंहका अनुसार एप्रोनका लागि पुरिएको माटो राम्ररी थिचिएको भएन, रोलरलाई 'आराम' दिइएकाले अहिले एप्रोनमा प्वाल परेको हो। अर्थात्, निर्माणमा संलग्न जिम्मेवार निकायहरू 'ब्याग रोल' गर्दै थिए, रोलर भने चलाएनन्!
विमानस्थलभन्दा ३० मिटर माथि उठाएर बनाइएको एप्रोनका कारण अब विमानस्थलका कर्मचारीले जहाजले भुइँ छाड्ने अन्तिम बिन्दु नै देख्न नसक्ने भएका छन्। "जहाज उड्यो कि खस्यो? भगवान भरोसा!"
यत्तिमै कुरा सकिँदैन। एप्रोनको दक्षिणी किनारमा तीन मिटर लम्बाइ र दुई फिट गहिरो भासिएको भाग देखेपछि अब स्थानीयहरू 'आकस्मिक पोखरी' बन्ने सम्भावनाबारे समेत अड्कल काट्न थालेका छन्।
अब त प्रश्न उठ्छ— के ठेकेदारले निर्माणभन्दा पहिले ‘प्वाल परेपछि कसरी टाल्ने’ भन्ने योजना नै बनाएर आए? कि यो ठेक्काको सामान्य परम्परागत भाग हो? नेपालका सरकारी निर्माणहरूमा गुणस्तर भन्दा ‘गफस्तर’ ठूलो हुने परम्पराले फेरि एक पटक आफ्नो पहिचान स्थापित गरिसकेको छ!
प्रतिक्रिया