काठमाडाैं- बागलुङ नगरपालिका–१०, भकुण्डेका एक वृद्ध, जो जीवनभर बाँसका सामग्री बनाउँदै पेट पाल्दै आए, आफ्नो उत्तरार्द्धमा पहिचानविहीन अवस्थामा बाँच्न बाध्य छन्। करिब ९० वर्षीय यी वृद्धको नाम, ठेगाना तथा पारिवारिक पहिचान अहिलेसम्म खुल्न सकेको छैन।
सानै उमेरदेखि भकुण्डेमा आएर बाँसको चोयाका सामग्री बनाउँदै जीविका चलाउने यी वृद्धलाई स्थानीय बासिन्दाले ‘धान्द्रुके बाजे’ भनेर चिन्ने गरेका छन्। लामो समयदेखि विभिन्न घरमा आश्रय लिँदै आएका बाजे अहिले शारीरिक तथा मानसिक रूपमा कमजोर भइसकेका छन्। हाल उनि स्थानीय नरमाया थापाको घरमा आश्रित छन्।
उनको नागरिकता नहुँदा राज्यबाट प्रदान गरिने सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित हुनुपरेको छ। स्थानीयस्तरबाट थुप्रै पटक पहल भए तापनि उनको वास्तविक पहिचान नखुल्दा कानुनी प्रक्रिया अघि बढ्न सकेको छैन। “हाम्रो घरमा बस्न थालेको दशकौं भयो। मेरो विवाह हुँदा उहाँ यहीं हुनुहुन्थ्यो, अहिले म ६० वर्षको भएँ। उहाँलाई धेरै ठाउँमा लगेका थियौं, तर नागरिकता बनाउन सकेनौं,” स्थानीय नरमाया थापाले दुःख व्यक्त गर्दै भनिन्।
पूर्वगाविस अध्यक्ष तथा संविधासभा सदस्य नरबहादुर थापा अनुसार बाजे जैमिनीको बिजुवामा जन्मिएका हुन् भन्ने भनाइ मात्र सुन्न आएको छ। आमाले छोडेपछि उनि धान्द्रुक बसाइँ सरेको भन्ने अनुमान गरिए पनि पक्का जानकारी छैन। बोल्न नसक्ने भएकाले आफन्तको पहिचान अझै खुल्न सकेको छैन।
भकुण्डे पुगेका बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बाजेको अवस्था प्रत्यक्षरूपमा अवलोकन गर्दै नागरिकता तथा अपांगता परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालयमा समन्वय गरिने प्रतिबद्धता व्यक्त गरे। “उहाँले एउटा परिचय पाउनु भनेको राज्य भएको महसुस गर्नु हो। कुनै नेपाली नागरिक पहिचानविहीन हुनुहुँदैन। आवश्यक परे व्यक्तिगत रूपमा मैले नै संरक्षण लिन्छु,” उपप्रमुख खड्काले भने।
प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले स्थानीय, वडा कार्यालय तथा नगरपालिकाको सहजीकरण भएमा नागरिकता प्रदान गर्न सहज हुने बताए। कानुनी प्रक्रियाबारे अध्ययन गरी आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उहाँले स्थानीयस्तरबाटै संरक्षण प्रदान गर्ने हो भने नागरिकता दिन सकिने धारणा राखे।
अब ‘धान्द्रुके बाजे’लाई जीवनको उत्तरार्द्धमा राज्यको पहिचान दिने जिम्मेवारी स्थानीय प्रशासन, सरकार तथा समाजको काँधमा आएको छ। नागरिकता दिलाउन सक्दा उनि सामाजिक सुरक्षाबाट लाभान्वित हुन सक्छन्, जसले उनको जीवनलाई सम्मानजनक बनाउन सहयोग पुर्याउनेछ। अब यस कार्यमा सबै पक्ष गम्भीर भएर लाग्न आवश्यक छ।
प्रतिक्रिया