साइबर अपराधका घटना बढ्दो : लगानी गरेको पैसा दोब्बर फिर्ता हुने प्रलोभन देखाएर ठगी

साइबर ब्युरो भन्छ- अधिकांश एप नेपाल बाहिरदेखि सञ्चालित, अनुसन्धान गर्न र मुद्दा लगाउनै कठिन

शुक्रबार, ०२ फागुन २०८१, १५ : ३८

काठमाडौं– ‘गत मंसिर २४ गते मैले फेसबुक चलाउने क्रममा एकजना दिदी पर्ने आफन्तको ‘फेसबुक स्टोरी’ देखेँ । जहाँ अनलाइनमार्फत् थोरै पैसा लगानी गरेर धेरै पैसा फिर्ता लिएको विवरणसहितको स्क्रिनसट फोटो थियो । त्यो देखेपछि मेरो मनमा उत्सुकता जाग्यो कसरी हुने रैछ भन्ने बुझ्न मन लागेपछि मैले सोही फोटोमार्फत् उनलाई मेसेज लेखेँ,‘के हो दिदी यस्तो ?’ 

केही समयभित्र नै उनले फर्काइन् ‘यो अनलाइन बेटजस्तै खालको एउटा खेल हो यहाँ हामीले केही गर्नुपर्दैन पैसा लगानी गरेपछि छोटोसमयभित्रै दोब्बर पैसा फिर्ता पाईन्छ । तपाई पनि इच्छुक हुनुहुन्छ भने कम्पनीको मान्छेलाई टेलिग्राममा मेसेज गर्नु म लिंक पठाइदिन्छु । भाई तपाईलाई तरिका पनि त्यही सिकाइदिन्छन् , त्यसपछि त जति लगानी गर्यो त्यही अनुसार फिर्ता पनि पाउनुहुन्छ ।’ दिदीले यस्तो भनेपछि मैले पनि पैसा दिन तयार भएको थिएँ ।’ नेपालगञ्ज घर भई काठमाडौं बस्ने ३१ वर्षीय वसन्त शर्मा (नाम परिवर्तन) ले भने । शर्माले अनलाइन ठगीमा परेर लाखौँ रकम सकाएका थिए । 

‘उनीहरुले एउटा ट्रेडिङ एकाउन्ट बनाइदिएका थिए, मैले उनीहरुले दिएको बैंक खातामा पैसा हालिदिएपछि उक्त खोलिएको एकाउन्टमा पनि पैसा बढ्दै जाने रैछ । सिमीत रकम पुगेपछि निकाल्न मिल्ने बताएपछि पैसा थपिदिदैँ गएँ । ट्रेडिङ बन्द भएपछि पैसा निकाल्न मिल्छ भनेको थिए तर बन्द भएको नोटिफिकेसन आएपछि उनीहरुले अझै पैसा हाल्नुपर्छ अनि निकाल्न मिन्छ भनेर पठाए’ उनले भने ।

‘त्यसपछि मलाई शंका लाग्न थाल्यो र मैले फेसबुकमा पहिले बोलेको दिदीलाई मेसेज गर्न खोज्दा ब्लक गरिसकेको भेटेँ । त्यसपछि नजिकको आफन्तसँग ती दिदीको नम्बर मागेर फोन गरेपछि थाहा भयो उनको फेसबुक त पहिले नै ह्याक भएको रहेछ , मलाई मेसेज गर्ने त ह्याकर पो रैछ ।’ शर्माले आजको अर्थलाई आफ्नो अनुभव सुनाउँदै भने । 

आफूले लगभग २ लाख २५ हजार जति गुमाएर ठगिएको थाहा पाएका उनले त्यसपछि टेलिग्राममा पटकपटक मेसेज गर्दापनि ‘रिप्लाई' नआएपछि आफूले मुद्दा दर्ता गराएको बताए । टेलिग्राममा नम्बर पनि लक हुने हुँदा ट्रयाक गर्न पनि गाह्रो हुने हुँदा उनीहरुले त्यसको प्रयोग बढी गरेको हुन सक्ने उनले बताए ।

शर्मा एक प्रतिनिधि पात्र हुन्, डिजिटल प्रविधिको बढ्दो विस्तारसँगै नेपालमा साइबर अपराध जटिल मुद्दा बनिरहेको छ । सामाजिक सञ्जाल विशेष गरेर फेसबुक, इमेल, एक्स, युट्युब, एटीएम, एसएमएस लगायतको मार्फत् साइबर अपराधका घटना दिननुदिन बढिरहेका छन् । नेपाल प्रहरी साइबर ब्युरोकाको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा मात्र १० हजार ६०० भन्दा भन्दा बढी साइबर अपराधका घटनाहरु ब्युरोमा दर्ता भएका छन् । 

आव २०८०/८१ मा दर्ता भएका घटनाको संख्या १९ हजार ७ सय ३० थिए भने २०७९/८० मा ९ हजार १३ वटा साइबर अपराधका घटना दर्ता भएका थिए । चालु आर्थिक वर्षको घटना दर्ताको स्थिति हेर्दा साइबर अपराधका घटना एकदमै बढेको देखिन्छ ।

साइबर अपराधका बढी दर्ता हुने घटनाका प्रकारहरूमा ह्याकिङ, फिसिङ, पहिचान चोरी, अनलाइन जालसाजी, साइबरबुलिङ, मालवेयर वा भाइरसहरू फैलाउनेलगायतका घटना पर्ने प्रहरी उपरीक्षक तथा साइबर ब्युरोका प्रवक्ता तथा सुचना अधिकारी दिपकराज अवस्थीले जानकरी दिए ।

इन्टरनेट कम्प्युटर प्रणाली वा नेटवर्कहरूमा पहुँच जति बढ्यो त्यति नै घटनाको दर्ता हुने क्रम त्यति नै बढेको उनको भनाई छ । साइबर अपराधमा दर्ता भएका कतिपय घटनाहरु कानुनका कारणले मुद्दा लगाउन नमिल्ने प्रकृतिका पनि हुन्छन् । साथै नेपालभन्दा बाहिरबाट चलेका एपहरु र अभियुक्त बाहिर भएको खण्डमा कार्यक्षेत्रका कारणले मुद्दा लगाउन र त्यसको अनुसन्धान गर्न पनि प्रहरीलाई गाह्रो पर्ने उनले बताए । साथै कतिपय घटना दर्ता गर्नेहरुले पनि अभियुक्त भेटिएपछि मुद्दा चलाउदिन भनेपछि घटना दर्ता नगर्ने गरेको उनी बताउँछन् ।

ठगीमा परेका शर्माले आफूले घटना दर्ता गरेपछि दुई जना अभियुक्तलाई प्रहरीले भेटाएको बताए । उनले भने,‘एकजना इन्डियन आर्मी हुनुहुँदो रहेछ तर प्रहरीले एरपोर्टमा भेटेको उनले कुनैपनि पैसा नलिएको बताएका थिए । त्यसिपछि उनको नाममा अरुकै खाता रहेको भेटिएको थियो । अर्को एकजना होटल चलाउने दिदीको बैंक खाता रहेछ तर उनले पैसा भने लिएको होइन रहेछ उनलाई धेरैपटक ‘मेरो एकाउन्टबाट झुकिएर पैसा आएछ दिनु न है’ भनेर लग्ने गरेको रहेछन् कसले लगेको उनलाई नै थाहा छैन, त्यसरी उनी पनि थाहा नै नपाई ठगिएकी रहेछिन् ।’ 

यही प्रसंगमा साइबर ब्युरोका प्रहरी उपरीक्षक अवस्थी भन्छन्, ‘मानिसहरुले अरुलाई आफ्नो नागरिकता र अन्य कागजपत्रहरु सजिलै दिनाले यस्तो घटना घटेको हो । अनुसन्धानको क्रममा हामीले संवेदनशील जानकारीको चोरी भएकोले साइबर अपराध बढेको पाएका छौं । बैंक खाताहरु र सामाजिक सञ्जालहरु आफ्नो नाममा प्रयोग भएका छन् भनेर कतिपयलाई जानकारी नै हुँदैन । कतिपयले भने आफूलाई गलत हो भन्ने थाहा हुँदाहुँदै पनि आफ्नो खातामा आएको पैसा अर्को खातामा हालिदिएको कमिसन लिने गरी यस्तो काम गरेका हुन्छन् । यसको साथै कतिले चै आफू बाहिरी देशमा बस्ने र खाता चै अरुलाई दिएका हुन्छन् यस्तो स्थिति आउँदा हामीलाई अभियुक्त सम्म पुग्न नै गाह्रो हुन्छ ।’ 

‘साइबर अपराधीहरूले प्रायः आफ्नो गैरकानुनी गतिविधिहरू सञ्चालन गर्न प्रविधि र मानिसको कमजोरीहरूको शोषण गरिरहेका हुन्छन् । यसरी कमिसनको लोभ तथा विभिन्न बाहाना बनाएर अरुको प्रयोग गर्छन् । यसरी प्रयोग हुनेमा सबैभन्दा बढी नेपालीहरु रहेका छन् । बाहिरको मानिसहरुसम्म पुग्न हाम्रो कानुनले नदिने र जनशक्तिको कमीका कारण पनि सकिदैन यसैको फाइदा उठाएर पनि बाहिरी मानिसहरुले नेपालीहरुको प्रयोग गरेको पाइन्छ । यसरी अन्तिममा फस्ने नेपाली नै हुन्छन् ।’ प्रहरी उपरीक्षक अवस्थीले थपे ।

प्रहरीले कानुनद्वारा निर्दिष्ट राष्ट्रिय तथा क्षेत्रीय अधिकार भएका साइबर कसूरको अनुसन्धान गर्ने काम गर्छ । तर कतिपय घटना कानुनका कारण दर्ता गर्न र अनुसन्धान अघि बढाउन नसकिने किसिमका हुन्छन् । कानुन समयअनुसार परिवर्तन भएको राम्रो हुने भएपनि काम नै गर्न नसकिने भने नभएको भन्दै प्रहरी उपरीक्षक अवस्थीले साइबर अपराधका घटनाको प्रकृति फरकफरक हुने हुँदा मुद्दाको प्रकृतिअनुसारको कानुन परिवर्तन भए अझै सहज हुने बताए ।

शुक्रबार, ०२ फागुन २०८१, १५ : ३८

प्रतिक्रिया