डडेल्धुराका उद्योगी कालीप्रसाद जोशी रहस्यमय तरिकाले मृत फेला

शनिबार, ०३ फागुन २०८१, १९ : २८

काठमाडाैं- डडेल्धुरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कालीप्रसाद जोशी रहस्यमय परिस्थितिमा मृत फेला परेका छन्। अमरगढी नगरपालिका–२, कुस्मालीस्थित एक स्थानमा आज अपराह्न उनको मृत शरीर फेला परेको प्रहरीले जनाएको छ।

भेल घर, अमरगढी नगरपालिका–२ निवासी जोशी यही फागुन १ गते बिहान ११ बजेदेखि सम्पर्कविहीन थिए। परिवार र आफन्तजन उनको खोजीमा रहेका बेला तीन दिनपछि उनको शव भेटिएपछि डडेल्धुरामा स्तब्धता छाएको छ। घटनापछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमले तत्कालै अनुसन्धान प्रारम्भ गरिएको जानकारी दिए।

कालीप्रसाद जोशी डडेल्धुराका एक सम्मानित उद्योगी मात्र नभई, समाजसेवामा समेत सक्रिय व्यक्तित्व थिए। उनको निधनको खबरले डडेल्धुरासहित समग्र सुदूरपश्चिमका उद्योगी तथा व्यावसायिक वृत्तलाई स्तब्ध बनाएको छ। रहस्यमय अवस्थामा जोशीको मृत्यु हुनु, फागुन १ गतेदेखि उनि सम्पर्कविहीन हुनु र तीन दिनपछि शव भेटिनुले घटनालाई थप रहस्यमय बनाएको छ। प्रहरीले घटनाको गहिराइसम्म पुगेर सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता जनाएको छ।

जोशीको असामयिक निधनप्रति स्थानीय उद्योगी, व्यापारी तथा शुभचिन्तकहरूले शोक व्यक्त गरेका छन्। प्रहरी अनुसन्धानबाट घटनाको वास्तविकता उजागर हुने अपेक्षा गरिएको छ।

शनिबार, ०३ फागुन २०८१, १९ : २८

प्रतिक्रिया