माैसम पूर्वानुमान

पश्चिमी वायुको प्रभाव : देशका पहाडी भूभागमा बदली, उच्च क्षेत्रमा हिमपातको सम्भावना

आइतबार, ०४ फागुन २०८१, ०६ : १९

काठमाडौं- हाल देशभर पश्चिमी वायुको प्रभाव सक्रिय रहँदा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक असर परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रत्यक्ष प्रभावले कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहँदा अन्य भूभागमा आंशिक बदलीसँगै मौसम सफा देखिएको छ। तराईका केही स्थानहरूमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने क्रम जारी छ, जसले जनजीवन प्रभावित गर्न सक्ने सम्भावना छ।

देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहँदै मौसम खुला रहने अनुमान गरिएको छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिको समय पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली कायम रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा सम्भावित हिमपात र तराईका केही भूभागमा लाग्ने हुस्सु तथा कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ। सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरिएको छ।

मौसम परिवर्तनले स्वास्थ्यमा असर पार्न सक्ने हुँदा विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक र बिरामीहरूलाई आवश्यक सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।

आइतबार, ०४ फागुन २०८१, ०६ : १९

प्रतिक्रिया