फाेटाे : रासस
काठमाडाैं- बागलुङकाे काठेखोला गाउँपालिकाले महिलाहरूलाई आयआर्जनसँग जोड्ने उद्देश्यसहित मौरीपालन तालिम प्रदान गर्दै मौरीघार उपलब्ध गराएको छ। घरको सीमित दायरामा मात्र सीमित महिलालाई सीप सिकाएर उद्यमशील बनाउन गाउँपालिकाले महत्वपूर्ण कदम चालेको हो।
गाउँपालिका–४ तङ्ग्राममा आयोजित तीनदिने मौरीपालन तालिमपछि महिलाहरूमा नयाँ उत्साह जागेको छ। गाउँका २० महिलालाई उद्यमी बनाउने लक्ष्यसहित मौरीघार वितरण गरिएको गाउँपालिका अध्यक्ष राजु थापाले जानकारी दिए। उनले देश समृद्ध बनाउन केवल भौतिक पूर्वाधारको विकास पर्याप्त नहुने बताउँदै समावेशी विकास आवश्यक रहेको उल्लेख गरे।
गाउँपालिकाले नागरिकलाई सीपयुक्त तालिम प्रदान गरेर दक्ष र आत्मनिर्भर बनाउन निरन्तर क्रियाशील रहेको अध्यक्ष थापाको भनाइ छ। स्थानीयस्तरमा पर्याप्त सम्भावना रहे पनि सीप र दक्षताको अभावमा उत्पादकत्व वृद्धि हुन नसकेको उनले औंल्याए।
“गाउँमा थुप्रै सम्भावना भए पनि सीपको अभावले गर्दा धेरै नागरिकलाई आयआर्जनसँग जोड्न सकिएको छैन,” अध्यक्ष थापाले भने, “काठेखोलाले पालिकाभित्रका सम्भावनाहरू पहिचान गरी आमजनतालाई दक्ष बनाउने र उत्पादनमुखी बनाउने योजनासहित अघि बढेको छ। हाल मौरीपालनका लागि केही मौरीघार वितरण गर्दै आवश्यक तालिम प्रदान गरिसकेको छौँ।”
गाउँपालिकाले गत वर्ष विभिन्न वडामा खाना पकाउने तालिम, मकैको भुत्लाबाट हस्तकलाका सामग्री बनाउने तथा चप्पल बनाउने तालिम सञ्चालन गरेको थियो। यस वर्ष महिला लक्षित कार्यक्रमअन्तर्गत वडा नं १ र ६ मा मादल र हार्मोनियम बजाउने तालिम प्रदान गरिएको स्थानीय महिला समन्वय समिति संयोजक सुन्तली विश्वकर्माले जानकारी दिइन्।
काठेखोला गाउँपालिकाको यो पहलले महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
प्रतिक्रिया