काठमाडाैं- सङ्खुवासभामा निर्माणाधीन ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाका प्रभावित स्थानीयवासीलाई ८८ करोडभन्दा बढी मुआब्जा वितरण गरिएको छ। यस आयोजनाले सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा मुख्य संरचना रहने गरी निर्माण हुँदैछ।
जिल्ला प्रशासन कार्यालयका अनुसार ६५६ प्रभावित परिवारले मुआब्जा प्राप्त गर्नेछन्। अहिलेसम्म ८८ करोड नौ लाख ७८ हजार २०० रुपैयाँ वितरण भइसकेको छ भने कुल मुआब्जा रकम एक अर्ब ४० करोड रहने जनाइएको छ। प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार आयोजनाका लागि १८४ हेक्टर जग्गा आवश्यक पर्नेछ, जसमा निजी स्वामित्वमा रहेको जग्गा ६५ दशमलव ९६ हेक्टर छ। यस आयोजनाको निर्माण जिम्मा भारतीय सतलज जलविद्युत् निगम लिमिटेडले लिएको छ।
सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट खेर गएको पानीलाई सदुपयोग गर्दै करिब १७.४ किलोमिटर सुरुङमार्गमार्फत खाँदबारी नगरपालिका–२ चेवाबेँसीमा तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो। नेपालले यस आयोजनाबाट २१.९ प्रतिशत (१९७.१ मेगावाट) विद्युत् निःशुल्क प्राप्त गर्नेछ भने बाँकी विद्युत् भारत निर्यात गरिनेछ। आयोजना विकास सम्झौता (पिडिए) अनुसार ‘बुट’ मोडेलमा निर्माण भइरहेको यस आयोजना २५ वर्षपछि नेपाल सरकारले प्राप्त गर्नेछ। आयोजना निर्माणको समयावधि पाँच वर्ष तोकिएको छ।
मुआब्जा वितरण प्रक्रियाबाट सरकारले पाँच करोड बढी राजस्व सङ्कलन गरेको छ। पछिल्लो तीन महिनामा मुआब्जा वितरणमार्फत पाँच करोड १३ लाख छ हजार ३९ रुपैयाँ राजस्व संकलन भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनाका प्रभावितका लागि वितरण गरिएको मुआब्जाबाट चार करोड ३७ लाख ५७ हजार ३९४ रुपैयाँ तथा अरुण तेस्रो प्रवेशमार्गको मुआब्जा वितरणबाट ७५ लाख ४८ हजार ६४५ रुपैयाँ राजस्व संकलन भएको छ।
तल्लो अरुण जलविद्युत् आयोजना नेपालका लागि ऊर्जा क्षेत्रमा नयाँ सम्भावनाका ढोका खोल्ने विश्वास गरिएको छ। आयोजनाको प्रभावकारी कार्यान्वयनले मुलुकको जलविद्युत् विकासमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया