उदयपुरको खसिबासमा खानेपानीको हाहाकार

आइतबार, ०४ फागुन २०८१, ०७ : १७

काठमाडाैं- उदयपुरको कटारी नगरपालिका–१, माथिल्लो खसिबासका स्थानीयवासी लामो समयदेखि खानेपानीको चरम अभाव झेल्न बाध्य भएका छन्। कुनै पनि खानेपानी आयोजना सञ्चालनमा नआउँदा स्थानीय खोलाको पानी पिउन विवश छन्।

हिउँद लागेसँगै खोलाको पानीसमेत सुक्दै जाने हुँदा समस्या झनै गम्भीर बन्दै जान्छ। ‘खोलाभन्दा माथिल्लो गाउँमा पानीको चरम अभाव छ,’ स्थानीय ज्ञानबहादुर तामाङले भने, ‘लुगा धुन, नुहाउन त तल्लो गाउँसम्म लुगा बोकेर जानुपर्छ, तर गाईवस्तुलाई पानी खुवाउन समेत हम्मेहम्मे पर्छ।’

तामाङका अनुसार खसिबासको तल्लो भेगमा विभिन्न खानेपानी आयोजना सञ्चालनमा भए पनि माथिल्लो भेग यस सेवाबाट वञ्चित छ। वर्षात्को समयमा खोलामा बाढी आउँदा झनै समस्या थपिन्छ। स्थानीय रुद्रबहादुर राई भन्छन्, ‘हिउँदमा खोलाखोल्सी चहारेर पानीको जोहो गर्नुपर्छ।’

माथिल्लो खसिबासका ५०–60 घरधुरी खानेपानी संकटमा छन्। तल्लो खसिबासमा पनि आयोजना सञ्चालन भए तापनि पानीको आपूर्ति पर्याप्त छैन। खोलाबाट मोटर जोडेर पानी तान्ने व्यवस्था भए पनि वर्षामा बाढीका कारण पानी धमिलो हुने र हिउँदमा पानीको सतह घट्ने समस्याले स्थानीयलाई निराश बनाएको छ।

चारैतिर हरियाली चुरे वनले घेरेको यो रमणीय गाउँ पशुपालनका लागि उपयुक्त मानिए पनि खानेपानीको अभावले स्थानीयवासीको दैनिकी कष्टकर बनेको छ।

 

आइतबार, ०४ फागुन २०८१, ०७ : १७

प्रतिक्रिया