काठमाडौं- नेपाली सांगीतिक क्षेत्रको प्रतिष्ठित पुरस्कार समारोह एपिक नेपाल म्युजिक अवार्डको पाँचौँ संस्करण यस वर्ष मध्यपुरथिमि नगरपालिकास्थित ऐतिहासिक सम्पदा क्षेत्र दुई पोखरीमा चैत २ गते भव्य रूपमा आयोजना हुने भएको छ।
एपिक नेपाल म्युजिक प्रालिले शनिबार शङ्खधर पार्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा अवार्ड वितरणबारे जानकारी गराउँदै निवर्तमान नगरप्रमुख मदनसुन्दर श्रेष्ठले ३२ विधामा अवार्ड प्रदान गरिने घोषणा गरे। यस वर्षको लाइफ टाइम एचिभमेन्ट अवार्ड वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाललाई प्रदान गरिने उनले जानकारी दिए।
सदावहार नायकको अवार्ड भुवन केसीलाई, रियल हिरो अवार्ड पल शाहलाई, पत्रकार सम्मान ऋषि धमलालाई र युवा पत्रकार सम्मान ऋषि थपलियालाई प्रदान गरिने पनि बताइएको छ।
सर्वोत्कृष्ट अवार्डका लागि लोकगीत, आधुनिक, लोकपप, टेलिचलचित्र र चलचित्र क्षेत्रका कलाकारहरूबीच प्रतिस्पर्धा हुनेछ। गायक, गायिका, शब्द, लय, मोडल, भिडियो निर्देशक, नृत्य निर्देशक, म्युजिक एरेन्जर, भिडियो सम्पादकदेखि नवप्रतिभासम्मका विधाहरूमा अवार्ड प्रदान गरिनेछ।
निर्णायकमण्डलको नेतृत्व ख्यातिप्राप्त अभिनेत्री मिथिला शर्माले गरेकी छिन्। निर्देशक सुब्रत आचार्य, गायक चन्द्र शर्मा, निर्देशक प्रकाश भट्ट र गायिका प्राश्ना शाक्य निर्णायकको रूपमा चयन भएका छन्।
निवर्तमान नगरप्रमुख श्रेष्ठले अब एपिक नेपाल म्युजिक अवार्ड प्रत्येक दुई वर्षमा एक पटक आयोजना गरिने जानकारी दिँदै छैटौँ संस्करण २०८३ मा हुने बताए। सांगीतिक क्षेत्रका प्रतिभाहरूलाई सम्मान गर्ने यो अवार्डले नेपाली संगीतमा नयाँ उचाइ थप्ने विश्वास गरिएको छ।
प्रतिक्रिया