काठमाडाैं- भारतको नयाँ दिल्ली रेलवे स्टेशनमा शनिबार राति भएको भागदौडले देशलाई स्तब्ध बनाएको छ। करिब ९ः२६ बजे प्लेटफर्म नम्बर १३, १४ र १५ को बीचमा भएको यस हृदयविदारक घटनामा १८ जनाको ज्यान गएको छ, जसमा १४ महिला र ३ बालबालिका रहेका छन्। २५ भन्दा बढी यात्रुहरू घाइते भएका छन्।
लोक नायक जय प्रकाश अस्पतालले मृतकको पुष्टि गरेको छ। महाकुम्भ मेलामा सहभागी हुन देशभरबाट आएका भक्तजनहरूको भीड दिउँसो ४ बजेदेखि नै स्टेशनमा खचाखच थियो। तर, राति करिब ८ः३० बजे प्रयागराज जाने ३ वटा रेल ढिलो हुँदा भीडको चाप बढ्न गई भागदौड मच्चिएको थियो।
भारतीय रेलमन्त्री अश्विनी वैष्णवले घटनाको गम्भीरतालाई मध्यनजर गर्दै तत्काल छानबिनको आदेश दिएका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
महाकुम्भ मेलामा भीड व्यवस्थापन चुनौतीपूर्ण बन्दै आएको छ। यसअघि जनवरी २९ मा प्रयागराजको महाकुम्भ मेलामा भागदौड मच्चिँदा ३० जनाले ज्यान गुमाएका थिए। फेब्रुअरी १०, २०१३ मा पनि प्रयागराज स्टेशनमा कुम्भ मेलाकै क्रममा भागदौड हुँदा ३६ जनाको मृत्यु भएको थियो।
यस दर्दनाक घटनाले पुन: एकपटक भारतको भीड व्यवस्थापन र आपतकालीन पूर्वतयारीमाथि गम्भीर प्रश्न खडा गरेको छ। # एजेन्सी
प्रतिक्रिया