हेटौंडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा, उत्पादन अनिश्चित

आइतबार, ०४ फागुन २०८१, ०९ : ०२

काठमाडाैं- हेटौँडा सिमेन्ट उद्योग लामो समयदेखि बन्द रहँदा उद्योग आर्थिक सङ्कटमा फस्दै गएको छ। आवश्यक मर्मत सम्भार तथा कच्चापदार्थको अभावका कारण उद्योग पुनः सञ्चालनमा आउन नसक्दा सिमेन्ट उत्पादन पूर्ण रूपमा ठप्प भएको छ।

उद्योग व्यवस्थापनका अनुसार उपकरण मर्मत गर्नुपर्ने कारण देखाउँदै गत असोज १५ गतेदेखि उत्पादन बन्द गरिएको थियो। यद्यपि, तोकिएको समयमै मर्मत कार्य सम्पन्न हुन नसक्दा उद्योग अझै सञ्चालनमा आउन सकेको छैन। उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता हरेराम आचार्यका अनुसार आर्थिक सङ्कट गहिरिँदै गएकोले उत्पादन पुनः सुरु गर्न थप अन्योलता छाएको छ।

"उत्पादन रोकिए पनि उद्योगका नियमित खर्च भने यथावत छन्। कर्मचारीको तलब-भत्ता, इन्धन तथा सामान्य मर्मत खर्च निरन्तर भइरहेकाले आर्थिक भार बढिरहेको छ," आचार्यले बताए। साथै, आवश्यक कच्चापदार्थ अभावले उत्पादन थाल्न थप समस्या सिर्जना गरेको छ। "हामीलाई दैनिक १२० टन कोइलाको आवश्यकता पर्छ, तर पुरानो भुक्तानी समेत बाँकी रहेकाले तत्काल कोइला प्राप्त गर्न सक्ने अवस्था छैन," उनले थपे।

प्राविधिक प्रमुख कामेश्वर मण्डलका अनुसार उद्योगका उपकरण अत्यधिक पुराना भएका कारण अपेक्षित उत्पादन सम्भव नभएको हो। "पुराना उपकरण बिग्रिएका छन्, हामी मर्मत कार्य अन्तिम चरणमा छौँ। छिट्टै उत्पादन थाल्ने तयारीमा छौँ," मण्डलले जानकारी दिए।

विसं २०३३ मा स्थापना भई विसं २०४३ देखि उत्पादन सुरु गरेको हेटौँडा सिमेन्ट उद्योग देशकै प्रतिष्ठित सार्वजनिक उद्योगहरूमध्ये एक हो। २०८१ भदौ महिनाको तेस्रो साताबाट पुनः उत्पादन थालेर ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको उद्योग दैनिक १६ हजार बोरा उत्पादन गर्ने क्षमतायुक्त भए पनि आर्थिक समस्याले यसको भविष्य अनिश्चित बनेको छ।

सरकार तथा सम्बन्धित निकायले तत्काल आवश्यक पहल नगरेमा उद्योग थप सङ्कटमा फस्ने सम्भावना रहेको उद्योग प्रशासनको भनाइ छ।

आइतबार, ०४ फागुन २०८१, ०९ : ०२

प्रतिक्रिया