तेह्रथुममा भव्य मुटु परीक्षण शिविर: ८७० जना लाभान्वित

आइतबार, ०४ फागुन २०८१, ०९ : १७

काठमाडाैं- तेह्रथुमको जिल्ला सदरमुकाम म्याङलुङमा आयोजित निःशुल्क मुटु परीक्षण शिविरबाट ८७० जना बिरामीले प्रत्यक्ष लाभ लिएका छन्। लायन्स क्लब अफ काठमाडौँ बुद्ध युनिभर्सलको आयोजनामा तथा सहिद गङ्गालाल हृदय केन्द्र काठमाडौँको प्राविधिक सहयोगमा सम्पन्न यो शिविर सांसद सीता गुरुङ, म्याङलुङ नगरपालिका, नबिल बैंक तथा जिल्लाका विभिन्न संस्थाहरूको समन्वयमा सञ्चालन गरिएको हो।

शिविरमा मुटुसम्बन्धी समस्या पहिचान गर्नका साथै मधुमेह, उच्च रक्तचाप लगायतका परीक्षणहरू पनि गरिएका थिए। जिल्लाका छवटै पालिकाबाट आएका बिरामीहरूले विशेषज्ञ सेवा प्राप्त गरे।

शिविरमा परीक्षण गरिएका बिरामीहरूमध्ये थप उपचार आवश्यक पर्नेहरूलाई गङ्गालाल हृदय केन्द्र, काठमाडौँमा निःशुल्क उपचार प्रदान गरिने छ। केन्द्रका कार्यकारी निर्देशक डा. रवि मल्लका अनुसार बिरामीहरूको यातायात खर्च जयन्ती मेमोरियल ट्रष्टले व्यहोर्नेछ।

शिविरमा मुटुरोग विशेषज्ञ डा. दीपक लिम्बूसहितको १८ सदस्यीय विशेषज्ञ चिकित्सक टोलीले सेवा प्रदान गरेको थियो।

तेह्रथुममा मुटु विशेषज्ञ सेवाको अभावमा बिरामीहरूलाई राजधानी वा सुविधासम्पन्न अस्पतालहरूमा जानुपर्ने बाध्यता थियो। यसले समय र आर्थिक भार बढ्ने हुँदा धेरैको पहुँच बाहिर रहन्थ्यो। यही समस्यालाई मध्यनजर गर्दै यो शिविर सञ्चालन गरिएको गङ्गालाल हृदय केन्द्रका चिकित्सकहरूले बताएका छन्।

म्याङलुङ नगरप्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले दुर्गम जिल्लामा मुटु परीक्षण शिविर सञ्चालन गर्न सफल भएकोमा सबै पक्षलाई धन्यवाद व्यक्त गरे। त्यस्तै, सांसद सीता गुरुङले लामो प्रयासपछि तेह्रथुममा मुटु स्वास्थ्य शिविर सञ्चालन गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रतिबद्धता जनाइन्।

यो शिविरले तेह्रथुमका नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर प्रदान गरेको छ, जसले मुटुसम्बन्धी समस्या समयमै पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

 

आइतबार, ०४ फागुन २०८१, ०९ : १७

प्रतिक्रिया