काठमाडाैं- नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले बुढानीलकण्ठ नगरपालिकालाई सञ्चार तथा विज्ञापन नीति निर्माण गर्न आग्रह गरेको छ। ‘शिक्षा, सीप र उद्यमशीलता, रोजगारी हाम्रो प्राथमिकता’ नारासहित आयोजित चौथो रोजगार तथा वृत्ति मेलामा महासंघले पत्रकारिता तथा सञ्चार क्षेत्रमा रुचि राख्ने युवाका लागि सूचना आदानप्रदान, मार्गदर्शन तथा परामर्श प्रदान गरेको थियो।
महासंघको कक्ष भ्रमण गरेका सहभागीहरूले पत्रकारिता क्षेत्रमा करियर बनाउन आवश्यक सीप तथा तालिमको आवश्यकता औंल्याएको उपत्यका प्रदेश समितिका महासचिव आशिष गुरागाईंले जानकारी दिए। स्थानीय सञ्चारमाध्यमहरूको दिगो विकास, विज्ञापन व्यवस्थापन तथा सूचना प्रवाहलाई प्रभावकारी बनाउन नीति निर्माण गर्न नगरपालिकालाई आग्रह गरिएको उनले बताए।
उनले स्थानीय सञ्चारमाध्यमहरूको प्रभावकारिता बढाउन विज्ञापन तथा सूचना प्रवाहलाई व्यवस्थित गर्न नीति अपरिहार्य रहेकोमा जोड दिए।
कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा तथा अन्य स्थानीय प्रतिनिधिहरूसँग संवाद गरिएको थियो। महासंघको प्रस्तावमा स्थानीय सरकार प्रमुख–उपप्रमुखले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
महासंघ उपत्यका प्रदेश समितिले नगरपालिकासँग सहकार्य गर्दै स्थानीय सञ्चारमाध्यमहरूलाई बजेट विनियोजन, विज्ञापन वितरण मापदण्ड निर्धारण तथा पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न आवश्यक नीति निर्माण गर्नुपर्नेमा जोड दिएको छ।
प्रतिक्रिया