बर्दियामा चितुवाको आक्रमण: साढे दुई वर्षीय बालकको दर्दनाक मृत्यु

आइतबार, ०४ फागुन २०८१, १० : २०

काठमाडाैं- बर्दियाको मधुवन नगरपालिका–९ भाटचोकमा शनिबार राति एक साढे दुई वर्षीय बालक चितुवाको आक्रमणमा परेर ज्यान गुमाउन पुगेका छन्।

घरको आँगनमा खेलिरहेका बालक अचानक बेपत्ता भएपछि परिवारजन र स्थानीयवासीले आत्तिँदै खोजी कार्य थालेका थिए। निरन्तरको खोजतलासपछि राति करिब साढे नौ बजे बालकको शव भेटिएको थियो, जसले स्थानीयहरूलाई स्तब्ध बनाएको छ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी ऋषिराम घर्तीमगरका अनुसार नेपाल–भारत सिमानास्थित कतरनियाघाट वन्यजन्तु आरक्षबाट आएको चितुवाले बालकलाई आक्रमण गरेको पुष्टि भएको छ।

दुर्घटनामा परी ज्यान गुमाउने बालक राप्ती सोनारी गाउँपालिका–५ की रचना चलाउनेका छोरा रिहान रहेको खुलेको छ। उनी सानीआमा जमुना कँडेलको घरमा पाहुना आएका बेला यो दुखद घटना घटेको हो।

बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ। घटनापछि स्थानीयहरू त्रसित बनेका छन् भने वन्यजन्तु नियन्त्रणका लागि सुरक्षा निकाय र सम्बन्धित निकायहरूले सतर्कता अपनाउनुपर्ने आवाज उठेको छ।

आइतबार, ०४ फागुन २०८१, १० : २०

प्रतिक्रिया