काठमाडौं- राष्ट्रियसभाका सांसद मदनकुमारी गरिमा (शाह) ले जातीय भेदभाव तथा छुवाछूतका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्नेमा जोड दिएकी छिन् ।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै उनले बैतडीको सिगास गाउँपालिका–१ आङडेगाडाका शिक्षक प्रकाश दमाइँकी आमा माना दमाइँको निधन हुँदा जातीय कारणले मलामी नपाउनु सभ्य समाजका लागि कलङ्क भएको बताइन् ।
"सामाजिक न्याय र मानव अधिकार हराउँदै गएको छ। शिक्षित नागरिक प्रकाश दमाइँकी आमाले जातकै कारण मलामी नपाउनु अत्यन्तै लज्जास्पद छ। यो घटना जातीय विभेदको क्रूरतम उदाहरण हो," सांसद शाहले आक्रोश व्यक्त गरिन् ।
सांसद भुवन सुनारले सरकारले खरका छाना विस्थापनका लागि अहिलेसम्म रु छ अर्बभन्दा बढी खर्च गरिसकेको भए पनि प्रभावकारी कार्यान्वयन नदेखिएको बताए । "छ वर्षमा ७७ हजार मात्र खरका छाना हटाइएको छ। चालु आर्थिक वर्षमा रु ४० करोड विनियोजन गरिएको छ, तर यसको प्रभावकारी कार्यान्वयन भएको छैन। सरकार यसबारे स्पष्ट हुनुपर्छ," उनले सरकारको ध्यानाकर्षण गराए ।
उनले सरकारले मात्र खरका छाना हटाउने होइन, भूकम्पबाट जीर्ण भएका घरहरू पुनर्निर्माण गर्नसमेत पहल गर्नुपर्ने बताए।
सांसद युवराज शर्माले देशभरका विभिन्न अस्पतालमा कर्मचारी अभावका कारण बिरामीहरूले गुणस्तरीय सेवा नपाएको बताउँदै स्वास्थ्य संस्थाहरूमा आवश्यक जनशक्ति व्यवस्थापन गर्न सरकारसँग माग गरे ।
सांसद सुरेशकुमार आलेमगरले म्याग्दीको धौलागिरि गाउँपालिका–१ मा सडक विस्तार नहुँदा स्थानीयवासीले भोग्नुपरेको समस्या संसद्मा उठाए । "आधारभूत यातायात सुविधा नहुँदा जनता मारमा परेका छन्, सरकारले अविलम्ब सडक विस्तार प्रक्रिया अगाडि बढाउनुपर्छ," उनको भनाइ थियो ।
राष्ट्रियसभामा उठाइएका यी गम्भीर मुद्दाहरू प्रति सरकारको कस्तो प्रतिक्रिया आउँछ भन्ने प्रतीक्षामा आमनागरिक छन् ।
प्रतिक्रिया