काठमाडौं- राष्ट्रियसभाका सांसदहरूले प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीको सामाजिक सञ्जालमा आएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन् । सांसदहरूका अनुसार शाहीको अभिव्यक्तिले राष्ट्रियसभाको गरिमामा हानि पुर्याएको भन्दै संविधानबमोजिम कारबाहीको माग गरिएको छ ।
राष्ट्रियसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद गङ्गाकुमारी बेल्वासेले संविधानको धारा १०३ को ८ अनुसार शाहीविरुद्ध कारबाही हुनुपर्ने माग गरिन् । उक्त धारामा कुनै व्यक्तिले सदनको अपमान गरेमा सचेत गराउने, नसिहत दिने वा तीन महिनासम्म कैद वा रु १० हजारसम्म जरिवाना गर्ने व्यवस्था छ ।
शाहीको विवादास्पद अभिव्यक्ति सांसद शाहीले गत माघ २८ गते आफ्नो फेसबुक पोस्टमा राष्ट्रियसभालाई ‘वृद्धाश्रम’ को संज्ञा दिँदै लेखेका थिए, “राष्ट्रियसभा नै वृद्धाश्रम भएपछि कसको के नै लाग्छ ? वृद्धाश्रममा जानुपर्ने आदरणीय बाजेहरू राष्ट्रियसभामा भत्ता खान गएका छन्।” साथै, मिडिया काउन्सिल विधेयक अध्ययन नै नगरी हुबहु पारित गरिएको आरोप लगाएका थिए ।
सांसद भगवती न्यौपानेले शाहीको अभिव्यक्तिलाई अत्यन्तै अपमानजनक भन्दै घोर भर्त्सना गरिन् । उनले प्रश्न गर्दै भनिन्, “राष्ट्रियसभाका सदस्यको आयु निर्धारण गर्ने ज्ञानेन्द्र शाही तपाईं को हो ? यस धर्तीका दुई दिनका पाहुना भनिएको हामीलाई अपमान गर्ने अधिकार तपाईंलाई कसले दियो ?”
सांसदहरूद्वारा कारबाहीको माग सांसद नारायणदत्त भट्टले सांसद शाहीले राष्ट्रियसभाको अपमान गरेको भन्दै संसद्बाट नै खेद प्रस्ताव पारित गर्नुपर्ने धारणा व्यक्त गरे । उनले राष्ट्रियसभाका सदस्यहरूको योगदानलाई नजरअन्दाज गर्न नहुने बताए ।
सांसद कमला पन्तले दिगो विकासका लक्ष्य पूरा गर्न सुशासन आवश्यक रहेको भन्दै सरकारलाई सुशासनलाई प्राथमिकतामा राख्न आग्रह गरिन् ।
सांसद जगतबहादुर पार्कीले सत्ता गठबन्धनका नेताहरूले विस्तृत शान्ति प्रक्रियाविरुद्ध दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए । त्यस्तै, सांसद राजेन्द्रलक्ष्मी गैरेले राजनीतिक दलहरूले चुनावी घोषणापत्रमा लैङ्गिक हिंसा अन्त्य गर्ने प्रतिबद्धता जनाए पनि त्यसको कार्यान्वयन प्रभावकारी नभएको बताइन् ।
सांसद विष्णुबहादुर विश्वकर्माले सरकारले ल्याएका अध्यादेशहरू जनताको पक्षमा नभएको टिप्पणी गर्दै सरकारलाई प्रभावकारी नीति बनाउन आग्रह गरे ।
राष्ट्रियसभा सांसदहरूको एकताबद्ध आक्रोशपछि अब सांसद ज्ञानेन्द्र शाहीविरुद्ध के कारबाही अगाडि बढ्छ भन्ने विषयमा चासो बढेको छ ।
प्रतिक्रिया