काठमाडाैं- देशभर मौसममा पश्चिमी वायुको प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव सक्रिय रहेको छ। यसको प्रभावले विभिन्न भू-भागमा आंशिकदेखि साधारण बदलीको अवस्था रहनुका साथै केही स्थानहरूमा हिमपातको सम्भावना छ।
देशका पहाडी भू-भागहरूमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यत: सफा रहनेछ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा समेत हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ। तराईका केही भू-भागहरूमा बिहानपख हुस्सु/कुहिरो लाग्ने सम्भावना छ, जसले गर्दा यातायातमा असर पुर्याउन सक्ने देखिन्छ।
मौसम पूर्वानुमान महाशाखाले सम्भावित प्रभावलाई मध्यनजर गर्दै दैनिक जनजीवन, स्वास्थ्य तथा यातायातमा सतर्कता अपनाउन अनुरोध गरेको छ। विशेष गरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई आवश्यक सुरक्षा उपाय अवलम्बन गर्न तथा हुस्सु/कुहिरोको कारण सडक तथा हवाई यातायातमा हुन सक्ने असहजतालाई ध्यानमा राख्न अनुरोध गरिएको छ।
यातायातका साधन चालकहरूलाई सावधानीपूर्वक यात्रा गर्न तथा मौसमको अपडेट जानकारी लिएर मात्रै यात्रामा निस्कन सुझाव दिइएको छ।
प्रतिक्रिया