म्याग्दीको मुना मालिकालाई सडक सञ्जालमा जोड्दै, पर्यटकीय गन्तव्यको विकासमा नयाँ आयाम

सोमबार, ०५ फागुन २०८१, ०६ : ५०

काठमाडाैं- म्याग्दीको धवलागिरी गाउँपालिका–३ स्थित अनुपम प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय स्थल मुना मालिकासम्म पुग्न सहज हुने गरी सडक निर्माणको कार्य तीव्र रूपमा अघि बढाइएको छ। गण्डकी प्रदेश सरकार र धवलागिरी गाउँपालिकाको समन्वयमा मुना देखि मालिका धुरी जोड्ने सडक निर्माण थालिएको हो।

भौगोलिक विकटता र यातायातको अभावका कारण ओझेलमा परेको मुना मालिकालाई पर्यटकीय केन्द्रको रूपमा विकास गर्न सडक निर्माण महत्वपूर्ण हुने धवलागिरी गाउँपालिका–३ का वडा अध्यक्ष देवेन्द्र रोकाले जानकारी दिए। उनका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ मा गाउँपालिकाले विनियोजन गरेको रु. १५ लाख बजेटबाट उपभोक्ता समितिमार्फत मुना देखि साइलाखर्कसम्म २.१ किलोमिटर सडक निर्माण पूरा भइसकेको छ। साथै, गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु. २० लाख बजेटबाट साइलाखर्कदेखि मालिका धुरीसम्म थप ३ किलोमिटर सडक निर्माणका लागि पूर्वाधार विकास कार्यालयले ठेक्का आव्हान गर्ने तयारी गरिरहेको छ।

हाल मुनादेखि मालिका धुरी पुग्न यात्रुहरूले करिब छ घण्टाको जङ्गल यात्रा गर्नु पर्ने बाध्यता रहेको छ। तर, सडक निर्माण कार्य सम्पन्न भएपछि सोही दूरी ४५ मिनेटमै पार गर्न सकिनेछ। साथै, पदयात्राका लागि आवश्यक समय घटेर एक घण्टाभन्दा कममा सीमित हुनेछ।

मुना मालिकामा सुर्योदयको अनुपम दृश्य, विशाल हिमशृङ्खला, हरियाली पहाड, वन पैदावार, दुर्लभ वन्यजन्तु तथा जैविक विविधताको अनमोल खजाना पाइन्छ। यहाँबाट पुथा, गुर्जा, सिस्ने, धौलागिरि, मानापाथी, अन्नपूर्ण, निलगिरि हिमशृङ्खलाको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ। बागलुङ र म्याग्दीका बस्तीहरू स्पष्ट देख्न सकिन्छ भने बादल र पहाडको लुकामारी अवलोकन गर्न पाइन्छ।

मुना मालिकाको पदमार्ग दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे) को बासस्थान पनि हो, जसले जैविक विविधताको संरक्षणमा पनि विशेष भूमिका खेल्छ।

मुना मालिकामा प्रत्येक वर्षको बुद्ध पूर्णिमाका दिन विशेष मेला लाग्ने परम्परा रहँदै आएको छ। यहाँ जालिका, मालिका र कालिका देवीको थान रहेको छ, जहाँ पूजा आराधना गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहँदै आएको छ। मालिका गाउँपालिकाको देविस्थान र धवलागिरीको मुनाका बासिन्दाहरू पूजाआजा गर्न यहाँ पुग्ने गर्छन्। पहिले यहाँ धार्मिक मेला र ठेलो फाल्ने प्रतियोगितासमेत हुने गरेको बताइन्छ।

हालसम्म मुना मालिकामा होटल तथा रेष्टुरेन्टको सुविधा छैन, जसका कारण पर्यटक तथा तीर्थयात्रीहरूलाई खाद्य सामग्री आफैं लैजानुपर्ने बाध्यता छ। तर, धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरका अनुसार यात्राअवधि छोट्याउने, आश्रयस्थल बनाउने, चिया पसल सञ्चालन गर्ने, साथै देविस्थान, ताकमकोट र ढोरपाटनको जलजलासँग मुना मालिकालाई जोडेर पदमार्ग सञ्चालनका लागि सम्भाव्यता अध्ययन भैरहेको छ।

सडक पूर्वाधारको विकाससँगै मुना मालिका पर्यटनको केन्द्रबिन्दु बन्ने विश्वास गरिएको छ। प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, जैविक विविधता र साहसिक पर्यटनको अद्वितीय संगम रहेको यस क्षेत्रको प्रवर्द्धनले आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन मद्दत पुग्नेछ।

सोमबार, ०५ फागुन २०८१, ०६ : ५०

प्रतिक्रिया