काठमाडौं— जन्मदिनलाई उत्सवका रूपमा मात्र सीमित नराखी समाजसेवामा समर्पण गर्ने सोचका साथ व्यवसायी शिशिर सिंखडाले आफ्नो जन्मदिन सामाजिक कार्यमा बिताएका छन्। शैक्षिक परामर्श क्षेत्रमा इमान्दार र मेहनती व्यक्तित्वका रूपमा परिचित सिंखडाले असार १३ गते आफ्नो जन्मदिनको अवसरमा काठमाडौं गुह्येश्वरी, कुमारीगालस्थित प्रणवानन्द आश्रमका २ सय बालबालिकालाई भोजन गराएका छन्।
त्यसै अवसरमा कक्षा नर्सरीदेखि सातौंसम्म अध्ययनरत बालबालिकालाई विद्यालय पोशाक र शैक्षिक सामग्री समेत प्रदान गरिएको थियो।
सामाजिक, पारिवारिक माया ममताबाट विमुख बालबालिकासँग समय बिताउँदै शिशिर सिंखडाले जन्मदिनलाई अर्थपूर्ण र प्रेरणादायी बनाउने उद्देश्यले यस्तो कार्यक्रम गरेको बताए।
“मलाई जन्मदिनमा सकेसम्म सामाजिक काम गर्नुपर्छ भन्ने लाग्छ,” उनले भने, “फजुल खर्च गरेर रमाइलो गर्नुको सट्टा समाजसेवामा लगाउँदा आत्मसन्तुष्टि र सामाजिक कर्तव्य दुवै पूरा हुन्छ।”
सिंखडाको परिवारमा समेत जन्मदिनका दिन सामाजिक सेवा गर्ने परम्परा रहेको छ। उनले युवामा व्यक्ति–केन्द्रित सोच बढिरहेको र सामाजिक माया, सद्भाव हराउँदै गएको सन्दर्भमा यस्ता कार्यले सकारात्मक सोच र सहकार्यको भावना जगाउन मद्दत गर्ने विश्वास व्यक्त गरे।
“जन्मदिनलाई केवल उत्सवको रुपमा सिमित नराखी यसलाई अर्थपूर्ण बनाउनु पर्छ,” सिंखडाले भने, “परोपकारबाट प्राप्त आत्मसन्तुष्टि संसारका कुनै पनि पद वा पैसाले किन्न सकिँदैन।”
सिंखडाले यस्ता कार्यक्रमले युवामा जिम्मेवारी बोध बढाउने, सामाजिक नेतृत्व क्षमता विकास गर्ने र विभिन्न समुदायबीच समझदारी र सहकार्यको वातावरण बनाउने विश्वाससमेत व्यक्त गरेका छन्।
प्रतिक्रिया