दिल्लीमा बिहानै शक्तिशाली भूकम्पको धक्का, सर्वसाधारण आतंकित

सोमबार, ०५ फागुन २०८१, ०६ : ५९

काठमाडाैं- भारतको राजधानी नयाँ दिल्ली तथा आसपासका क्षेत्रमा सोमबार बिहान शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। स्थानीय समयअनुसार बिहान ५ बजेर ३६ मिनेट जाँदा आएको भूकम्पले शहरका विभिन्न भागहरू हल्लाएका छन्।

भूकम्पको केन्द्रविन्दु जमिनको पाँच किलोमिटर गहिराइमा रहेको बताइन्छ, जसका कारण घरहरू निकै नै हल्लिएका थिए। भूकम्पको तीव्रता ४ रेक्टर स्केलको मापन गरिएको छ। अप्रत्याशित रूपमा जमिन काँप्न थालेपछि स्थानीयवासीहरू आतंकित भई घरबाट बाहिर निस्किएका थिए।

भूकम्पको धक्का अत्यधिक तीव्र भएकाले केहीबेरसम्म मानिसहरू त्रासमा थिए। घरका ढोकाहरू चरमराएको, भित्ताहरू हल्लिएको अनुभव गरेका बासिन्दाहरू सडकमा निस्कँदा तनावग्रस्त अवस्था देखिएको थियो।

हालसम्म कुनै ठोस क्षतिको विवरण प्राप्त नभए पनि भूकम्पको प्रभावबारे विस्तृत जानकारी संकलन भइरहेको छ। भूकम्पविद्हरूका अनुसार जमिनको सतहको नजिकै केन्द्र भएको भूकम्पहरूले बढी कम्पन उत्पन्न गर्ने भएकाले यसले ठूलो धक्का महसुस गराएको हुनसक्छ।

प्राकृतिक विपत्तिहरूको जोखिम कम गर्न सचेत रहन विज्ञहरूले सुझाव दिएका छन्। दिल्ली तथा आसपासका क्षेत्रमा पछिल्ला दिनमा पटक–पटक भूकम्पीय गतिविधि देखिएकाले यसप्रति सतर्कता अपनाउन आग्रह गरिएको छ। #एजेन्सी

सोमबार, ०५ फागुन २०८१, ०६ : ५९

प्रतिक्रिया