फाइल फाेटाे
काठमाडाैं- सुदूरपश्चिम प्रदेशमा वित्तीय सुशासन जोखिम मूल्यांकनमा शुक्लाफाँटा नगरपालिकाले उत्कृष्ट नतिजा हासिल गरेको छ। आर्थिक वर्ष २०८०/८१ को मूल्यांकनमा नगरपालिकाले ९५ अंक ल्याउँदै सुदूरपश्चिममा दोस्रो तथा कञ्चनपुर जिल्लाभरि पहिलो स्थान प्राप्त गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको वित्तीय प्रणालीलाई पारदर्शी, विधिसम्मत् र प्रभावकारी बनाउन प्रत्येक वर्ष स्थानीय तहको मूल्यांकन गर्दै आएको छ। सो मूल्यांकन योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन मूल्यांकन तथा लेखापरीक्षण, र राजस्व व्यवस्थापन गरी पाँच मुख्य बुँदामा आधारित रहन्छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टका अनुसार सम्भावित वित्तीय जोखिमको पहिचान र सुशासनलाई संस्थागत गर्ने उद्देश्यले मूल्यांकन गरिएको हो। शुक्लाफाँटा नगरपालिकाले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा १९.५, कार्यान्वयन क्षमतामा २७.५, लेखांकन तथा प्रतिवेदनमा १७, मूल्यांकन तथा लेखापरीक्षणमा १५, तथा राजस्व व्यवस्थापनमा १६ अंक प्राप्त गरेको छ।
नगर प्रमुख रणबहादुर महराले नगरपालिकाले वित्तीय सुशासनमा उत्कृष्ट नतिजा हासिल गर्नुमा जनप्रतिनिधि तथा कर्मचारीको निरन्तर प्रयासको भूमिका रहेको बताए। “बेरुजु फछ्र्यौट गर्ने प्रतिबद्धता तथा निर्धारित समय अगावै नगरसभा सम्पन्न गरी बजेट पारित गर्न सक्नु नै सफलताको मुख्य कारण हो,” उनले भने।
स्थानीय तह वित्तीय सशासन जोखिम मूल्यांकनको प्रकाशित नतिजाअनुसार भीमदत्त नगरपालिकाले ७८.५, बेदकोट नगरपालिकाले ९३, कृष्णपुर नगरपालिकाले ७७, बेलौरी नगरपालिकाले ८२.५, पुनर्वास नगरपालिकाले ६६.५, बेलडाँडी गाउँपालिकाले ९०.५, तथा लालझाडी गाउँपालिकाले ८८.५ अंक प्राप्त गरेका छन्।
दोधारा चाँदनी नगरपालिका भने मूल्यांकनको नतिजाविहीन अवस्थामा रहेको छ, जसले वित्तीय सुशासनमा सुधारको आवश्यकता देखाएको छ। शुक्लाफाँटा नगरपालिकाको यो उपलब्धिले स्थानीय तहको प्रभावकारी वित्तीय व्यवस्थापनका लागि मार्गनिर्देश प्रदान गर्ने विश्वास गरिएको छ।
प्रतिक्रिया