फाेटाे : रासस
काठमाडाैं- गोरखा नगरपालिका, गोरखाले 'उपप्रमुख सवल नेतृत्व विकास कार्यक्रम' अन्तर्गत विपन्न महिलाहरूलाई उद्यमशील बनाउन सिलाइ मेसिनलगायतका उपकरण अनुदानमा प्रदान गरेको छ। नगरप्रमुख कृष्णबहादुर रानामगरका अनुसार, सीपमूलक तालिम लिएर पनि आर्थिक अभावका कारण व्यवसाय सुरु गर्न नसकेका महिलालाई आयआर्जनमा जोडेर आत्मनिर्भर बनाउन यो अभियान थालिएको हो।
"सीपअनुसारका प्रविधि उपलब्ध गराएपछि महिलाहरूलाई पेसामा जोड्न सहज हुन्छ," नगरप्रमुख रानामगरले भने, "यसै उद्देश्यले सिलाइ मेसिन वितरण गरिएको हो।"
वडावडाबाट अत्यन्तै न्यून आय भएका र सानो सहयोगबाट पनि जीविकोपार्जनमा जोडिन इच्छुक नौजना महिलालाई सिलाइ मेसिन अनुदान प्रदान गरिएको कार्यक्रमकी फोकलपर्सन शोभा दुवाडीले जानकारी दिइन्। साथै, व्यावसायिक रूपमा सिलाइकटाइ तालिम प्रदान गर्दै आएका चिनारी बहुउद्देश्सीय संस्था, गोरखा उद्योग वाणिज्य संघ र महालक्ष्मी सिलाइकटाइ केन्द्रलाई उन्नत प्रविधिको 'जुकी' सिलाइ मेसिन अनुदानमा प्रदान गरिएको छ।
"यी संस्थाहरूले विपन्न महिलालाई सिलाइकटाइ तालिम प्रदान गर्दै आएका छन्," दुवाडीले भनिन्, "यसबाट महिलाहरूलाई पेसा व्यवसायमा जोडिन ठूलो सहयोग पुग्नेछ।"
यसैगरी, गोरखा नगरपालिका–८ स्थित रानी स्वाँरा आहालटोल विकास संस्था, वडा नं ६ स्थित प्रगतिशिल महिला उद्यमी संघ र वडा नं २ स्थित थापा गाउँ महिला समूहका महिलाहरूलाई आयआर्जनसँग जोड्न नौमती पञ्चैबाजा वितरण गरिएको छ।
"गाउँटोलका पूजाआजा, बिहे, व्रतबन्धजस्ता कार्यक्रमहरूमा बाहिरबाट नौमती पञ्चैबाजा झिकाएर रमाइलो गर्नुपर्ने बाध्यता थियो," दुवाडीले थपिन्, "तर, नगरपालिकाको तालिम र अनुदानमा प्राप्त पञ्चैबाजाका कारण ती महिलाहरूले राम्रो आम्दानी गर्न थालेका छन्।"
गोरखा नगरपालिकाको यो पहलले महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउने मात्र नभई, उनीहरूको सीप र क्षमतालाई व्यवसायिक रूप दिन महत्वपूर्ण भूमिका खेलिरहेको छ।
प्रतिक्रिया