बारामा पुनःस्थापना केन्द्रमा निर्मम हत्या : परिवारजन आक्रोशित, न्यायका लागि माग

सोमबार, ०५ फागुन २०८१, ०८ : १०

काठमाडाैं- बाराको कलैया उपमहानगरपालिका–१, बैंक रोडस्थित नवजन्म पुनःस्थापना (सुधार) केन्द्रमा भर्ना गरिएका ३२ वर्षीय प्रदीपप्रसाद मण्डलको निर्घात कुटपिटबाट हत्या भएको घटनाले सर्वत्र सनसनी फैलिएको छ। परिवारजनले आइतबार बारा उद्योग वाणिज्य सङ्घको सभाहलमा पत्रकार सम्मेलन गर्दै हत्याका फरार अभियुक्तहरुलाई चाँडो पक्राउ गर्न माग गरेका छन्। मृतकका दाजु श्यामप्रसाद धानुकले "दोषी उम्किन नपाओस् र निर्दोष फस्न नपरोस्" भन्ने माग गर्दै फरार अभियुक्तलाई शीघ्र कानुनी दायरामा ल्याउन आग्रह गरे।

फरार अभियुक्तहरुको संरक्षणका लागि राजनीतिक चलखेल भइरहेको आरोप लगाउँदै धानुकले हत्या प्रकरणका दोषीलाई कठोर सजाय दिनु पर्ने धारणा राखे। प्रहरीका अनुसार पुनःस्थापना केन्द्रका सञ्चालक साहेबबाबु मन्सुरसहित दुई जना सम्पर्कविहीन छन्। अनुशासन भङ्गको आरोपमा शारीरिक सजाय दिन खोज्दा मण्डलको मृत्यु भएको खुलासा भएको छ।

बाराका प्रहरी प्रमुख सन्तोष तामाङले, "सङ्कलित प्रमाणले अनुहारमा मुक्काले कुटपिट भएको देखाएको छ। मध्यरातमा कोठाभित्र मण्डललाई 'मुर्गा' बनाउन खोज्दा नमानेपछि कुटपिट गरिएको देखिन्छ," भनेका छन्। दुई साताअघि परिवारले मण्डललाई पुनःस्थापना केन्द्रमा राखेका थिए।

पक्राउ परेका सात जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कलैया–1 का अरूण सर्राफ, सागर गुप्ता, परमेश्वर साह, सरफराज मन्सुरी, निरज सर्राफ, महम्मद आँसु मियाँ र तमन्ना मन्सुर हिरासतमा छन्।

प्रहरीले घटनाको सिसीटिभी फुटेज सुरक्षित राखेको छ, जसमा मृतक मण्डल ओछ्यानको झुलमा लुक्न खोज्दा तानेर कुटपिट गरेको दृश्य देखिन्छ। मृतकका परिवारजन र आफन्तले कलैयामा प्रदर्शन गर्दै फरार अभियुक्तलाई चाँडो पक्राउ गर्न माग गरेका छन्। महिनाको रु १० हजार बुझाई मण्डललाई सुधार केन्द्रमा राखिएको थियो। मृतक मण्डलका दुई छोरी र एक छोरा छन्।

यो हृदयविदारक घटनाले समाजमा पुनःस्थापना केन्द्रहरूको नियमन र मानवअधिकारको सवालमा गम्भीर प्रश्न खडा गरेको छ।

सोमबार, ०५ फागुन २०८१, ०८ : १०

प्रतिक्रिया