भोजपुरका किसानका लागि रुद्राक्ष प्रमुख आम्दानीको स्रोत बन्दै‌

सोमबार, ०५ फागुन २०८१, ०८ : २२

काठमाडाैं- भोजपुरका किसानका लागि रुद्राक्ष खेती आर्थिक समृद्धिको मुख्य आधार बन्न थालेको छ। जिल्लामा वार्षिक रु १५ देखि २० करोडसम्मको रुद्राक्ष निर्यात हुँदै आएको रुद्राक्ष व्यवसायी संघका सचिव उत्तम कटुवालले जानकारी दिए।

विशेषगरी मुखदार रुद्राक्षको माग उच्च रहेको सचिव कटुवालले बताए। आठदेखि २९ मुखेसम्मका दानालाई मुखदार भनिन्छ, जसमा २१ मुखे रुद्राक्षको माग सबैभन्दा बढी छ। २१ मुखे रुद्राक्ष एक दानाको मूल्य रु २० लाखदेखि ६० लाखसम्म पुग्ने गरेको छ। अन्य मुखदार रुद्राक्ष पनि आकार र मुखको आधारमा रु १,५०० देखि ४ लाखसम्ममा कारोबार हुने गरेको छ।

विगतमा औषधिको प्रयोग नगरी उत्पादन गरिएका रुद्राक्षको गुणस्तर उच्च भएकाले मूल्य पनि आकर्षक थियो। हाल किसानहरूले उत्पादन वृद्धिका लागि औषधि प्रयोग गर्न थालेपछि रुद्राक्षको मूल्यमा गिरावट आएको व्यवसायीहरूको भनाइ छ। औषधिको प्रयोगले रुद्राक्षका रुखसमेत मर्ने समस्या देखिएको छ।

षडानन्द नगरपालिका दिङ्लाका व्यवसायी सुजन राईका अनुसार रुद्राक्षलाई वन पैदावरको रुपमा राखिएकाले यसको बजारीकरणमा समस्या छ। उनले रुद्राक्षलाई नगदेबालीको रुपमा राखेमा किसानहरूलाई ठूलो राहत हुने बताए। दिङ्ला क्षेत्रमा मात्र दुई हजारभन्दा बढी किसान व्यावसायिक रूपमा रुद्राक्ष खेतीमा संलग्न छन्।

भोजपुरको नेपालेडाँडा, कुदाकाउले, देउराली, मूलपानी, केउरेनीपानी र साल्पासिलिछोलगायत क्षेत्रहरूमा रुद्राक्ष खेती प्रचुर मात्रामा हुने गरेको छ। चोरी तथा रुख कटानका घटनाले किसानहरूलाई चिन्तित बनाएको छ। यसै वर्ष माघसम्म भोजपुरबाट ७० हजार किलो रुद्राक्ष निर्यात भएको डिभिजन वन कार्यालय भोजपुरका सहायक वन अधिकृत विजय यादवले जानकारी दिए।

जिल्लामा उत्पादन भए पनि मुख्य बजार सङ्खुवासभाको खाँदबारी रहेको छ। खाँदबारीबाट तराई, काठमाडौँ हुँदै चीन, भारत, युरोप र अमेरिकासम्म रुद्राक्ष निर्यात हुने गरेको छ।

भोजपुरमा रुद्राक्ष खेतीको इतिहास भारतको काशीबाट बालागुरु षडानन्द अधिकारीले विसं १९३२ अघि दिङ्लामा रोपेको विश्वास गरिन्छ। समुद्री सतहदेखि १,४०० मिटर उचाइसम्म रुद्राक्ष खेती गर्न सकिने विज्ञहरू बताउँछन्।

सोमबार, ०५ फागुन २०८१, ०८ : २२

प्रतिक्रिया