चन्द्रागिरि नगरपालिकाको प्रभावकारी कार्यसम्पादनप्रति विश्व बैंकको उच्च प्रशंसा

सोमबार, ०५ फागुन २०८१, ०९ : २८

काठमाडाैं- विश्व बैंकका दक्षिण एशियाका क्षेत्रीय निर्देशक म्याथ्यु भर्गीस नेतृत्वको उच्चस्तरीय टोलीले चन्द्रागिरि नगरपालिकाको प्रभावकारी कार्यसम्पादनप्रति उच्च प्रशंसा व्यक्त गरेको छ। टोलीले नगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सम्पदा तथा संस्कृति संरक्षणका साथै प्रविधिमैत्री सेवा प्रवाहमा देखाएको समर्पण अनुकरणीय रहेको जनाएको छ।

नेपालमा सङ्घीयता कार्यान्वयनपछि तीन तहका सरकारहरूबीचको समन्वय र सहकार्यबारे चासो राख्दै टोलीले योजना तर्जुमा, बजेट व्यवस्थापन, कार्यान्वयन क्षमता, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन मूल्याङ्कन, लेखापरीक्षण तथा राजस्व व्यवस्थापनमा चन्द्रागिरि नगरपालिकाको भूमिका सराहनीय रहेको उल्लेख गर्यो।

नगर प्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ, नगरप्रवक्ता कृष्णप्रसाद खड्गी, वडाध्यक्ष तथा कार्यवाहक प्रशासकीय अधिकृत सुजनराज खनाल, आर्थिक प्रशासन शाखा प्रमुख महेशदत्त भट्ट, मानव संसाधन तथा आन्तरिक व्यवस्थापन शाखाका प्रमुख दामोदर रिजालसहित विभागीय प्रमुखहरू उपस्थित छलफलमा नगरपालिकाले दिगो विकास लक्ष्य (SDGs) प्राप्त गर्न उच्च प्राथमिकता दिएको स्पष्ट पारियो।

नगर प्रमुख गिरीले प्रविधिमैत्री सेवा प्रवाह, विद्युतीय सुशासन, विपद् व्यवस्थापन, वातावरण संरक्षण, फोहरमैला व्यवस्थापन, सहरी सुरक्षा, उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा बजारीकरणमा नगरपालिकाले उच्च प्रतिबद्धता राखेको बताए। उनले चन्द्रागिरि नगरपालिकाले स्वच्छिक स्थानीय मूल्याङ्कन प्रतिवेदन संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गरिसकेको जानकारी गराए।

विश्व बैंकका क्षेत्रीय निर्देशक भर्गीसले चन्द्रागिरि नगरपालिकाको कार्यशैली र विकास परियोजनाको प्रभावकारिता नेपालकै अन्य स्थानीय तहका लागि प्रेरणादायी हुने बताए। उनले भने, “चन्द्रागिरि नगरपालिकाले सम्पादन गरिरहेको कार्यहरू नेपाल भ्रमणको ऐतिहासिक क्षणको रूपमा रह्यो। यहाँका अनुभवहरू अनुकरणीय छन्।”

नगरपालिकाको प्रभावकारी नेतृत्व, समन्वय, नवप्रवर्तनशील कार्यशैली र प्रविधिमैत्री सेवा प्रणालीले चन्द्रागिरिलाई देशभरका स्थानीय तहका लागि आदर्श नगरपालिकाका रूपमा उभ्याएको छ।

सोमबार, ०५ फागुन २०८१, ०९ : २८

प्रतिक्रिया