काठमाडौं- प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राम्रो नदेख्ने र नलेख्ने प्रवृत्तिलाई सामाजिक सञ्जालको भाष्य बनाउन नहुने धारणा राखेका छन् ।
सामाजिक सञ्जालमा नेपाली संस्कार र संस्कृति विपरित गाली संस्कृति हुर्किएको भन्दै उनले तथ्यसहितका सृजनात्मक सामाग्री हुनुपर्ने सुझाव दिएका छन् ।
‘गालीगलौज र अश्लील भाषा, हिंसा, द्धेस फैलाउने, मनमुटाव बढाउने, जातजाती, धर्म, रीतिरिवाज र संस्कृतिबीच फाटो ल्याउन खोज्ने, उक्साउन खोज्ने प्रवृत्ति फेसबुक, युट्युव, एक्स, टिकटकजस्ता सामाजिक सञ्जालमा भेटिँदा दुःख लाग्छ’,बस्नेतले फेसबुकमा लेखेका छन् ।
‘नभएका कुरा जोड्जाड होइन, भएका तथ्यपरक, सृजनात्मक र आशाको सञ्चार जगाउने सामाग्री सामाजिक सञ्जालमा राख्नु उपर्युक्त हुन्छ’, उनले भनेका छन् । सामाजिक सञ्जालमा नकरात्मकतालाई प्रश्रय दिन नहुने तर्फ सजग हुनुपर्नेमा उनको जोड छ ।
उनले नभएका कुरा गरेर आपसी फाटो ल्याउने, घृणास्पद शब्दसहितको गाली नेपाली संस्कार र संस्कृति भित्र नपर्ने तर्फ सजग गराउँदै आफ्नो संस्कृति आफै मिचेर बलवान नहुने तर्फ सबैको ध्यानाकर्षण समेत गराएका छन् ।
पछिल्लो समय बेलुन दूर्घटना भई जलनमा पर्नुभएको उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका विषयमा सामाजिक सञ्जालमा आएका कतिपय नकरात्मक सामाग्रीप्रति लक्ष्य गर्दै अध्यक्ष बस्नेतले त्यसलाई असभ्य भनी टिप्पणी गरेका छन् ।
‘जलन दूर्घटना जस्तो संवेदनशील विषयमा समेत मानवीयताको ख्यालै नगरी आचार र तथ्यहीन टिकाटिप्पणी हुनु असभ्यताको पराकाष्ठा हो’, उनले भनेका छन् ।
प्रतिक्रिया