आईएमई पे र खल्तीबीच मर्जमा जाने सहमति, राष्ट्र बैंकको स्वीकृतिपछि कार्यान्वयनका हुने

सोमबार, ०५ फागुन २०८१, ११ : ०४

काठमाडौं- नेपालका दुई प्रमुख डिजिटल वालेट कम्पनी खल्ती र आईमई पे मर्जमा जाने भएका छन्। 

दुई कम्पनीबीच आइतबार आपसमा गाभिन सैद्धान्तिक (प्रारम्भिक) सहमति भएको हो। सम्झौतापछि स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन पठाइएको छ ।

नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फछ्र्योट विनियमावली, २०७७ मा संशोधन गर्दै वालेट मर्ज हुनसक्ने व्यवस्था गरेको छ। उक्त संशोधित विनियमावलीमा भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्था आपसमा गाभ्न गाभिन वा प्राप्ति गर्न सक्ने व्यवस्था उल्लेख छ। सोही व्यवस्था बमोजिम दुई कम्पनी मर्जमा जाने भएका हुन्। 

नेपालमा पहिलो पटक डिजिटल वालेट कम्पनीहरूबीच मर्जर हुन लागेको हो । मर्जरपछि नयाँ कम्पनीको नाम ‘आईएमई खल्ती’ हुने सहमति भएको छ ।

मर्जरसँगै डिजिटल भुक्तानी क्षेत्रमा थप सुदृढीकरण हुने र प्रयोगकर्ताहरूलाई अझै सुविधाजनक सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ । आईएमई पे र खल्तीले आ-आफ्ना सञ्जाल र प्रविधिलाई एकीकृत गरी नयाँ कम्पनीलाई मजबुत बनाउने योजना बनाएका छन् ।

राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि मर्जर प्रक्रिया औपचारिक रुपमा अघि बढ्नेछ ।

डिजिटल वालेट आईएमई पे सन् २०१७ मा सुरक्षित भुक्तानीका लागि स्थापना भएको एप हो। आईएमई पेले भुक्तान सेवाहरूको विस्तृत दायरा र वालेटबाट वालेटमा देशभित्र पैसा स्थानान्तरण गर्ने, विभिन्न बिलहरू तिर्ने र अनलाइन वा अफलाइन खरिद गर्ने सुविधा प्रदान गर्दै आएको छ। सात वर्षको अवधिमा आईएमई पेले करिब ५० लाख प्रयोगकर्ता बनाएको छ।

यस्तै, खल्ती पनि नेपालमा मोबाइल वालेट र भुक्तानी गेटवे सेवा प्रदायक हो। यो कम्पनी पनि सन् २०१७ मा सुरु भएको थियो। यसले प्रयोगकर्तालाई आधारभूत उपयोगिता भुक्तानी, होटल बुकिङ, चलचित्र र घरेलु उडान टिकट, घटना र अन्य धेरै जस्ता सेवाको दायरा भुक्तानी गर्न अनुमति दिने गरेको छ। मोबाइल एप प्रयोगकर्तामा मात्र सीमित नभई खल्तीसँग एक लाख बढी पीओएस र एजेन्ट सञ्जाल छन्। 

हाल आईएमई पे को चुक्ता पूँजी ३० करोड र खल्तीको चुक्ता पूँजी ५ करोड रुपैयाँ रहेको छ ।

सोमबार, ०५ फागुन २०८१, ११ : ०४

प्रतिक्रिया