काठमाडौं - भारतको ओडिसास्थित केआइआइटी विश्वविद्यालयमा एक नेपाली छात्राको शंकास्पद मृत्यु भएको छ। रुपन्देही घर भएकी २० वर्षीया प्रकृति लम्साल आइतबार साँझ विश्वविद्यालयको होस्टलमा मृत अवस्थामा भेटिएकी हुन्।
उनी केआइआइटीमा बि-टेक तेस्रो वर्षमा अध्ययनरत थिइन्। भारतीय सञ्चारमाध्यमहरूले प्रहरीको प्रारम्भिक अनुसन्धानमा प्रकृतिको मृत्यु शंकास्पद रहेको जनाएको छ। उक्त घटनामा प्रहरीले एक जना छात्रालाई पक्राउ गरेको इन्डियन एक्स्प्रेसले उल्लेख गरेको छ। पक्राउ परेका व्यक्तिको नाम एडविक श्रीवास्तव रहेको र उनी प्रकृतिका सहपाठी रहेको बताइएको छ। अहिले उनी माथि अनुसन्धान भइरहेको छ।
विश्वविद्यालय प्रशासनलाई प्रकृतिले यसअघि पनि एडविकविरूद्ध उजुरी दिएको खुलासा भएको छ, तर सो उजुरीमा कुनै कारबाही प्रक्रिया अघि बढाइएको छैन। यसबारे नेपाली विद्यार्थीहरू गुनासो गरिरहेका छन्। घटनापछि ओडिसामा रहेका नेपाली विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका थिए। उनीहरूको भनाइमा, दोषीलाई कारबाही गर्नको सट्टा, नेपाली विद्यार्थीहरूलाई होस्टेल छाड्न निर्देशन दिइएको छ।
यस घटना पश्चात ८०० जना नेपाली विद्यार्थीलाई सोमबार भित्र होस्टेल छाड्न चेतावनी दिइएको नेपाली विद्यार्थीहरूले बताएका छन्। घटना सार्वजनिक भएपछि नेपालका विभिन्न विद्यार्थी संगठनहरूले सरकारसँग कूटनीतिक स्तरमा जवाफ माग गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले घटनाबारे कूटनीतिक तवरबाट बुझ्ने काम भइरहेको बताएका छन्।
प्रतिक्रिया