काठमाडाैं- भारतको ओडिशा राज्यस्थित क्यालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) मा हालै भएका घटनाक्रमका कारण नेपाली विद्यार्थीहरू असहज परिस्थितिमा परेका छन्। यसै सन्दर्भमा, दिल्लीस्थित नेपाली दूतावासले सम्बन्धित शैक्षिक संस्थासँग समन्वय गरी नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि महत्वपूर्ण पहल गरेको छ।
दूतावासले प्राप्त जानकारीअनुसार, उक्त शैक्षिक संस्थाले आफ्ना नेपाली विद्यार्थीहरूलाई छात्रावास खाली गर्नुपर्ने सूचना जारी गरेको थियो। यस विषयलाई गम्भीरतापूर्वक लिँदै नेपाली दूतावासले तत्कालै संस्थाको नेतृत्वसँग छलफल गर्यो। फलस्वरूप, विद्यार्थीहरूको सुरक्षालाई प्राथमिकता दिँदै संस्थाले उनीहरूलाई छात्रावासमै रहने व्यवस्था मिलाएको छ। साथै, कक्षाको सहज सञ्चालनका लागि आवश्यक आवासीय व्यवस्था पनि मिलाइएको दूतावासले जानकारी दिएको छ।
दूतावासले उक्त घटनामा ज्यान गुमाएका विद्यार्थीप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको यथार्थ जानकारी छानबिनमार्फत सार्वजनिक गर्न माग गरेको छ। साथै, मृतकका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।
यस घटनासँग सम्बन्धित नेपाली विद्यार्थीहरूको समस्यालाई समाधान गर्न दूतावासले ओडिशा सरकार, मुख्यमन्त्री कार्यालय तथा अन्य भारतीय सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय गरिरहेको छ। प्रभावित विद्यार्थीहरूलाई कुनै समस्या परेमा, उनीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता दूतावासले जनाएको छ।
यदि कुनै नेपाली विद्यार्थी वा अभिभावकले थप जानकारी वा सहयोग आवश्यक परेमा, दूतावासले निम्न इमेल र हटलाइन नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ: इमेल: [email protected], 📞 हटलाइन नम्बर: +91 8929601925

प्रतिक्रिया