वैदेशिक रोजगारमा समस्यामा परेका सात नेपालीको उद्धार

मंगलबार, ०६ फागुन २०८१, ०६ : ००

काठमाडाैं- बागलुङको आप्रवासी स्रोत केन्द्रले वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका सात नेपाली कामदारको सफल उद्धार गरेको छ। चालु आर्थिक वर्षको सात महिनामा ११ उजुरी परेकामा हालसम्म सात जनालाई सुरक्षित रूपमा घर फर्काइएको छ।

विशेषगरी साउदी अरब, दुबई, कतार, कुवेत लगायतका खाडी मुलुकहरूमा पुगेका नेपाली कामदारले तलब नपाउने, बिदा नपाउने जस्ता समस्या भोग्नुपरेको सूचना अधिकारी तथा परामर्शकर्ता गङ्गा शर्मा रिजालले जानकारी दिए। यस्ता समस्याहरूको समाधानका लागि विभिन्न निकायहरूसँग सहकार्य गर्दै उद्धार प्रक्रिया अघि बढाइएको उनको भनाइ छ।

परामर्शकर्ता रिजालका अनुसार वैदेशिक रोजगारीका क्रममा ठगी, मृत्युलगायतका ९० उजुरी परेकामा हालसम्म ४१ उजुरी समाधान भइसकेका छन्। ठगीका ५४ उजुरीमध्ये १७ उजुरीको समाधान भइसकेको छ।

"धेरैजसो ठगी मेनपावर कम्पनीहरूले भन्दा व्यक्तिगत रूपमा परिचित वा एजेन्टहरूले गरेको पाइएको छ," उनले बताए। स्रोत केन्द्रको पहलमा हालसम्म ४३ लाख पाँच हजार पाँच सय रुपैयाँ ठगीमा परेका पीडितहरूलाई फिर्ता गराइएको छ।

साउनयता विदेशमा मृत्यु भएका आठ नेपाली कामदारका उजुरी परेका थिए, जसलाई पूर्ण रूपमा समाधान गरिएको छ। मृत्युका घटनामा सबैभन्दा बढी साउदी अरब र कतारमा भएका छन्।

परामर्शकर्ता रिजालका अनुसार विदेशमा सम्पर्कविहीन भएका पाँच उजुरी परेका थिए, जसमा एकजनालाई परिवारसँग पुन: सम्पर्कमा ल्याउन सफल भएको छ। विशेष गरी मलेसियामा बेपत्ता भएका जैमिनीका एक व्यक्तिलाई फेला पारेर परिवारसँग जोडिएको छ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले गैरकानुनी रूपमा विदेश जानेहरू नै बढी समस्यामा पर्ने बताउँदै सचेत रहन आग्रह गरेका छन्। उनका अनुसार राहदानी लिन आउने नागरिकहरूलाई विदेश जाँदा कानुनी प्रक्रिया पूरा गर्न र आवश्यक जानकारी लिई मात्र जान सल्लाह दिइँदै आएको छ।

"विदेशमा गएर समस्यामा पर्ने अधिकतम नागरिकहरू न्यूनवर्ग र कम शिक्षित रहेका छन्। कतिपय आत्महत्या गर्छन् भने कतिपयको कामकै क्रममा मृत्यु हुन्छ। त्यसैले विदेश जानुअघि आफू कुन देशमा, कुन कम्पनीमा र के काम गर्न जाँदैछु भन्ने प्रस्ट बुझ्न जरुरी छ," सुवेदीले बताए।

वैदेशिक रोजगारी सुरक्षित र व्यवस्थित बनाउन सरकारले विभिन्न निकायमार्फत प्रयास गरिरहेको छ। स्रोत केन्द्र, दूतावास, वैदेशिक रोजगार बोर्ड तथा कन्सुल सेवा विभागको सहकार्यमा उद्धार कार्यलाई अझ प्रभावकारी बनाउने प्रयास भइरहेको अधिकारीहरूले जनाएका छन्।

मंगलबार, ०६ फागुन २०८१, ०६ : ००

प्रतिक्रिया