बाँकेमा वन्यजन्तु पीडित ३७ परिवारलाई राहत वितरण

मंगलबार, ०६ फागुन २०८१, ०६ : ०५

काठमाडाैं- बाँके जिल्लामा वन्यजन्तुबाट मानवीय तथा पशुधनको क्षति व्यहोरेका ३७ परिवारलाई राहत प्रदान गरिएको छ। लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको राहत रकम जिल्लाका एउटा नगरपालिका र तीन गाउँपालिकाका प्रभावित परिवारहरूलाई प्रदान गरिएको हो।

डिभिजन वन कार्यालयका अनुसार, राप्तीसोनारी गाउँपालिकामा ३३, खजुरा गाउँपालिकामा एक, वैजनाथ गाउँपालिकामा एक र कोहलपुर नगरपालिकामा दुई परिवारलाई राहत वितरण गरिएको छ। कार्यालयका सिनियर वन डिभिजनल अधिकृत शङ्करप्रसाद गुप्ताले विगत दुई वर्षमा वन्यजन्तुबाट मानवीय तथा पशुधनको क्षति व्यहोरेका ३७ परिवारलाई राहत प्रदान गरिएको जानकारी दिए।

वन्यजन्तु पीडित ३६ पशुधनधनीलाई कुल रु ९ लाख १२ हजार पाँच सय र एक जना मानवीय पीडित परिवारलाई रु १० लाख गरी कूल रु १९ लाख १२ हजार पाँच सय क्षतिपूर्ति वितरण गरिएको छ। राहत वितरण कार्यक्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवार, वन सचिव मोहनराज काफ्ले, राप्तीसोनारी तथा खजुरा गाउँपालिकाका अध्यक्षहरू लगायतको उपस्थिति थियो। पदाधिकारीहरूले मृतक परिवारलाई राहत हस्तान्तरण गर्दै भविष्यमा समेत आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए।

यसअघि संघीय सरकारले निकुञ्जमार्फत राहत उपलब्ध गराउँदै आएकोमा, वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८० लागू भएसँगै अब प्रदेश सरकारले डिभिजन वन कार्यालयमार्फत राहत उपलब्ध गराउने व्यवस्था गरेको छ। नयाँ निर्देशिका अनुसार क्षतिपूर्ति रकमलाई दोब्बरसम्म वृद्धि गरिएको छ।

नयाँ निर्देशिका अनुसार, भैँसी, राँगो, गोरु, उन्नत जातका गाई, घरपालुवा चौँरी, घोडा र खच्चडको मृत्यु भएमा अधिकतम रु ६० हजारसम्म राहत प्रदान गरिनेछ, जुन यसअघि रु ३० हजारमात्र थियो। अन्य पशुको हकमा, प्रकार र मूल्याङ्कनका आधारमा प्रतिपशु अधिकतम रु १० हजारसम्म क्षतिपूर्ति दिने व्यवस्था गरिएको छ। साथै, माछा तथा कुखुरा पालन व्यवसायमा पनि वर्षको एकपटक राहतको दाबी गर्न सकिने व्यवस्था गरिएको छ, जसअन्तर्गत क्षतिको मूल्याङ्कनका आधारमा बढीमा रु १० हजारसम्म राहत प्रदान गरिनेछ।

वन्यजन्तुका कारण उत्पन्न जोखिम न्यूनिकरणका लागि प्रदेश सरकार थप प्रभावकारी नीति अवलम्बन गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

मंगलबार, ०६ फागुन २०८१, ०६ : ०५

प्रतिक्रिया