देशका उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना, तराईमा हुस्सु-कुहिरोको प्रभाव

मंगलबार, ०६ फागुन २०८१, ०७ : ५९

काठमाडौं- देशभर अहिले पश्चिमी वायु र पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार, सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदलीसहित मुख्यतः मौसम सफा रहनेछ।

तराईका केही स्थानमा बिहानैदेखि बाक्लो हुस्सु-कुहिरो लागेकाले जनजीवनमा असर पर्ने सम्भावना छ। विभागले सडक तथा हवाई यातायातमा यसले केही प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको अनुमान छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हिमपात हुनसक्ने छ भने बागमती प्रदेशका केही उच्च भूभागमा पनि हल्का हिमपातको सम्भावना रहेको छ।

तराईका थोरै भूभागमा बिहानपख बाक्लो हुस्सु-कुहिरो लागेको छ। यसको असरले दैनिक जनजीवनमा असर पार्न सक्ने, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्क रहन विभागले अनुरोध गरेको छ। विशेष गरी बिहान र रातको समयमा यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्हरूको सुझाव छ।

देशका विभिन्न भागमा मौसम परिवर्तन भइरहेकाले स्वास्थ्यमा असर नपरोस् भन्नका लागि आवश्यक सतर्कता अपनाउनु महत्त्वपूर्ण रहने मौसमविद्हरू बताउँछन्।

 

मंगलबार, ०६ फागुन २०८१, ०७ : ५९

प्रतिक्रिया