विकट महावु गाउँपालिकामा स्वास्थ्य सेवा विस्तार, नागरिकलाई सहज पहुँच

मंगलबार, ०६ फागुन २०८१, ०८ : ०४

काठमाडाैं- दैलेखको भौगोलिक रूपमा दुर्गम मानिने महावु गाउँपालिका-५ काँशिकाँधको गोर्तिमा पहिलोपटक आधारभूत सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ। गाउँपालिकाले स्वास्थ्य सेवाबाट वञ्चित दुर्गम बस्तीहरूलाई लक्षित गरी यो महत्वपूर्ण कदम चालेको हो।

महावु गाउँपालिकाका अध्यक्ष जङ्गबहादुर शाहीका अनुसार स्थानीय बासिन्दालाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले पालिकाका छ वडामध्ये पाँच स्थानमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भइसकेको छ। “हाम्रो गाउँपालिका अत्यन्तै विकट छ। यहाँका नागरिकलाई सामान्य स्वास्थ्योपचार पाउनसमेत कठिनाइ छ। नागरिकलाई नजिकैबाट सेवा दिन हामीले स्वास्थ्य एकाइ सञ्चालन गरेका हौँ,” अध्यक्ष शाही बताउँछन्।

हाल गाउँपालिकामा चार वटा वडास्तरीय स्वास्थ्य चौकी र एउटा ठूलो अस्पताल रहे पनि भौगोलिक कठिनाइका कारण स्वास्थ्य सेवामा समस्या आइरहेको छ। यसै कारण पालिकाले दुर्गम क्षेत्रका नागरिकलाई सहज पहुँच पुर्‍याउन सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको हो। “केही ठाउँमा वडास्तरीय स्वास्थ्य चौकीसम्म पुग्न घण्टौँ हिँड्नुपर्ने अवस्था छ। त्यसैले आधारभूत सेवा नागरिकको घरदैलोमै पुर्‍याउने हाम्रो प्रयास हो,” शाही थप्छन्।

स्वास्थ्य, शिक्षा, सडक, विद्युत् र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आफू दोस्रो कार्यकालमा योजनाबद्ध रूपमा काम गरिरहेको अध्यक्ष शाही बताउँछन्। “महावुलाई कृषिको हब बनाउने हाम्रो लक्ष्य छ। योजनाको प्राथमिकता निर्धारण गर्दै समृद्धि यात्रामा अघि बढिरहेका छौँ।”

वडाध्यक्ष दीपबहादुर शाहीका अनुसार विशेषगरी महिलाको स्वास्थ्यलाई ध्यानमा राखेर वडा नं. ५ मा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको हो। “नागरिकलाई सहज सेवा उपलब्ध गराउन हामी निरन्तर लागिरहेका छौँ। राज्यले प्रदान गर्ने सेवा जनतासम्म पुर्‍याउने हाम्रो जिम्मेवारी हो,” उनि बताउँछन्।

स्थानीय ठिमबहादुर बराल भन्छन्, “सामान्य बिरामी हुँदा समेत उपचारका लागि सदरमुकाम जानुपर्ने बाध्यता थियो। पाँचदेखि छ घण्टासम्म हिँडेर अस्पताल पुग्नुपर्ने अवस्थाले अकालमा ज्यान गुमाउने खतरा रहन्थ्यो। अब भने आधारभूत उपचार र औषधि गाउँमै पाउने भएकाले ठूलो राहत मिलेको छ।”

बर्खायाममा यातायात ठप्प हुँदा यहाँका बासिन्दाले थप कठिनाइ भोग्नुपर्ने अवस्था रहँदै आएको छ। तर, अहिले स्थानीयस्तरमै प्राथमिक स्वास्थ्योपचार सेवाको उपलब्धता भएपछि नागरिकहरूले राहतको महसुस गरेका छन्। महावु गाउँपालिकाको यो कदमले विकट क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्ने दिशामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।

swasthya

मंगलबार, ०६ फागुन २०८१, ०८ : ०४

प्रतिक्रिया