काठमाडाैं- क्यानडाको व्यस्ततम विमानस्थल पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा डेल्टा एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ। यस दुर्घटनामा १८ जना घाइते भएका छन्, जसमा दुईजनाको अवस्था गम्भीर रहेको बताइन्छ।
विमानमा ७६ यात्रु र ४ चालक दलका सदस्यसहित ८० जना सवार थिए। अमेरिकाको मिनियापोलिसबाट टोरन्टो आएको उक्त विमान अवतरणको क्रममा पखेटामा रहेका फ्ल्यापहरूले ठीकसँग काम नगरेपछि दुर्घटना भएको प्रारम्भिक रिपोर्टमा जनाइएको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार दुर्घटनाको समयमा टोरन्टोमा ठूलो हिमपात भइरहेको थियो। मौसम विज्ञान विभागका अनुसार हावा ६५ किलोमिटर प्रतिघण्टाको गतिमा चलेको थियो, जसले अवतरणमा समस्या निम्त्याएको हुन सक्ने अनुमान गरिएको छ।
क्यानडाको यातायात सुरक्षा बोर्डले दुर्घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ भने अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डले पनि अनुसन्धानमा सहयोग गरिरहेको छ।
दुर्घटनापछि टोरन्टो विमानस्थलमा २०० भन्दा बढी उडानहरू अस्थायी रूपमा रोकिएका थिए, तर केही घण्टाभित्र नै उडान सेवा पुनः सञ्चालनमा आएको छ।
प्रतिक्रिया