हेमराज अर्याललाई सहसचिवमा सिफारिस, चन्द्रागिरिबाट सम्मान

मंगलबार, ०६ फागुन २०८१, ०८ : ३८

काठमाडाैं- चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) पदमा सिफारिस हुनुभएकामा नगरपालिकाद्वारा विशेष सम्मान गरिएको छ। करिब एक वर्ष पाँच महिना चन्द्रागिरि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका अर्यालले नगरको विकास र समृद्धिमा ऐतिहासिक योगदान पुर्‍याएका थिए।

सोमबार आयोजित विशेष सम्मान समारोहमा नगरप्रमुख घनश्याम गिरीले सहसचिव अर्याललाई सम्मान गरेका थिए। नगरप्रमुख गिरीले अर्यालको नेतृत्वमा नगर प्रहरी गठन, जिपिएस र डिजिटल प्रणाली कार्यान्वयन, तथा प्रसूति अस्पताल निर्माणजस्ता दूरगामी महत्वका योजनाहरू सफलतापूर्वक कार्यान्वयन भएको उल्लेख गर्दै उनको योगदान अमूल्य रहेको बताए। “मैले हालसम्म १० जना प्रमुख प्रशासकीय अधिकृतसँग सहकार्य गर्ने अवसर पाएको छु, तर राजनीतिक लक्ष्यलाई बुझेर छिटो र प्रभावकारी रूपमा काम गर्नसक्ने क्षमता अर्यालसँग मात्र पाएँ,” नगरप्रमुख गिरीले प्रशंसा गरे। उनले अर्यालको सत्य र तथ्यमा आधारित कार्यशैलीलाई अनुकरणीय बताए।

सो अवसरमा सहसचिव अर्यालले राष्ट्रसेवक कर्मचारीका लागि चन्द्रागिरि नगरपालिकामा काम गर्ने वातावरण उत्कृष्ट रहेको उल्लेख गर्दै आफ्नो क्षमताले भ्याएसम्म नगरको उन्नयनमा समर्पित भई कार्यसम्पादन गरेको बताए। “म खोजेर वा रोजेर चन्द्रागिरि नगरपालिकामा आएको होइन, तर दबाब र प्रभावमा काम गर्ने बानी मसँग छैन,” उनले भने।

सहसचिव अर्यालले समाज र समुदायलाई सुक्ष्म अध्ययन गर्दै प्राप्त गरेको अनुभवकै कारण राजपत्राङ्कित प्रथम श्रेणीमा नाम निकाल्न सफल भएको उल्लेख गरे। उनले आफ्नो कार्यकालमा थालनी गरिएका असल अभ्यासलाई निरन्तरता दिन अनुरोध गर्दै ५१ बुँदे 'संस्थागत स्मरण' हस्तान्तरण गरे।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत सुजनराज खनाल, उपप्रमुख वसन्ती श्रेष्ठ र नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले सहसचिव अर्यालले चन्द्रागिरि नगरपालिकालाई पुर्‍याउनुभएको योगदानलाई सदैव सम्झिने प्रतिबद्धता व्यक्त गरे।

मंगलबार, ०६ फागुन २०८१, ०८ : ३८

प्रतिक्रिया