काठमाडाैं- भारतको ओडिसास्थित प्रतिष्ठित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको दुखद निधनप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिनका लागि कुटनीतिक पहललाई तिव्र पारेको छ।
सोमवार परराष्ट्र मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा सहसचिव कृष्णप्रसाद ढकालले मृतक लम्सालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरे। उनले उक्त घटनासँग सम्बन्धित एकजनालाई भारतीय प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको जानकारी गराउँदै घटनाको सत्यतथ्य बाहिर ल्याउन नेपाल सरकारले भारत सरकारसँग निरन्तर समन्वय गरिरहेको बताए।
लम्सालको निधनपछि निष्पक्ष छानबिनको माग गर्दै नेपाली विद्यार्थीहरूले गरेको विरोध प्रदर्शनले शिक्षालयलाई तताएको थियो। प्रदर्शनपछि नेपाली विद्यार्थीलाई छात्रावासबाट निकालिएको घटनाले थप तनाव सिर्जना गरेपछि नेपाल सरकारले तुरुन्तै भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमार्फत केआईआईटी प्रशासन, ओडिसा राज्य सरकार, भारतको केन्द्र सरकार र अन्य सम्बन्धित निकायहरूसँग उच्चस्तरीय छलफल गरी समाधानका लागि पहल थालेको सहसचिव ढकालले जनाए।
केआईआईटी प्रशासनले नेपाली विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राख्दै छात्रावासमा नै आवासको व्यवस्था मिलाएको र उनीहरूको पठनपाठनलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ। नेपाल सरकारले घटनाको गम्भीरतापूर्वक समीक्षा गर्दै विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न दूतावासमार्फत आवश्यक कुटनीतिक पहललाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ।
मंगलवार नेपाली राजदूतावासका प्रतिनिधिहरू ओडिसास्थित केआईआईटी पुगेर थप समन्वय गर्ने र विद्यार्थीहरूको अवस्था तथा सुरक्षाबारे प्रत्यक्ष जानकारी लिने कार्यक्रम तय भएको छ। सहसचिव ढकालले घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गराउने प्रतिबद्धता व्यक्त गर्दै विद्यार्थीहरूलाई नआत्तिन आग्रह गरेका छन्।
प्रकृति लम्सालको आत्माको चिरशान्तिको कामना गर्दै नेपाल सरकारले यस घटनालाई गम्भीरतापूर्वक लिँदै स्वतन्त्र, निष्पक्ष र शीघ्र छानबिन सुनिश्चित गर्न सबै आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया