ओडिसामा नेपाली विद्यार्थीको दुःखद निधनप्रति भारतीय दूतावासको समवेदना

मंगलबार, ०६ फागुन २०८१, ०९ : ३०

काठमाडौं- भारतीय ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा एक नेपाली विद्यार्थीको निधन भएको घटनाले सम्पूर्ण नेपाली समुदायलाई स्तब्ध बनाएको छ। काठमाडौंस्थित भारतीय दूतावासले गहिरो दुःख व्यक्त गर्दै मृतक परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

दूतावासले जारी गरेको विज्ञप्तिमा ओडिसा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहँदै घटनाको निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न स्थानीय अधिकारीहरू क्रियाशील रहेको उल्लेख छ। यस हृदयविदारक घटनाप्रति गम्भीर ध्यान दिँदै कलिङ्गा इन्स्टिच्युटले आफ्ना सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई क्याम्पस फर्कन, शैक्षिक गतिविधिमा पुनः संलग्न हुन र छात्राबासमा सुरक्षित रूपमा बस्न अपिल गरेको छ।

विद्यार्थीहरूको शैक्षिक क्षतिप्रति जिम्मेवारी बहन गर्ने प्रतिवद्धता पनि इन्स्टिच्युटले व्यक्त गरेको छ। नेपाल-भारतबीचको ऐतिहासिक मित्रता र स्थायी जनस्तर सम्बन्धलाई विशेष महत्त्व दिँदै भारतीय दूतावासले भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरूको हकहित र सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर आवश्यक सम्पूर्ण कदम चालिने आश्वासन दिएको छ।

शैक्षिक सपनाका साथ विदेशिएको एक उज्यालो भविष्यको आकाङ्क्षा दुर्घटनामा समाप्त हुनु निकै दुःखद् हो। तर, यस्तो कठिन परिस्थितिमा भारतीय दूतावासको सक्रियता र कलिङ्गा इन्स्टिच्युटको प्रतिबद्धताले पीडित परिवारलाई केही राहत मिल्ने आशा गरिएको छ। नेपाली विद्यार्थीहरूका लागि शैक्षिक तथा व्यक्तिगत सुरक्षामा उच्च प्राथमिकता दिनुपर्ने आवश्यकता यस घटनाले पुनः उजागर गरेको छ।

मंगलबार, ०६ फागुन २०८१, ०९ : ३०

प्रतिक्रिया