AI जेनेरेट फाेटाे
काठमाडाैं- काठमाडौं र ललितपुरमा अनलाइन जुवा संचालन गर्ने गिरोह सक्रिय बनेको छ। पछिल्लो एक महिनामा मात्र ६ अर्ब रुपैयाँभन्दा बढीको अनलाइन जुवा खेलाइएको पाइएको छ। सोही आरोपमा २८ जना पक्राउ परिसकेका छन्, जसमा अधिकांश भारतीय नागरिक छन्।
मंगलबार मात्र चार जना पक्राउ परेका छन्, जसले २ अर्ब रुपैयाँभन्दा बढीको अनलाइन जुवा संचालन गरेको आरोप छ। पक्राउ पर्नेहरू भारतको उत्तर प्रदेशका एमडी आरिफ हुसेन, अब्दुल कलाम, अभिशेष मदेसिया र इरफान पठान रहेको प्रहरीले जनाएको छ।
बूढानीलकण्ठको तौलुङस्थित घर भाडामा लिएर उनीहरूले अनलाइन जुवा सञ्चालन गरिरहेका थिए। प्रहरीले यसअघि पनि २४ जना पक्राउ गरिसकेको छ। माघ २० गते पक्राउ परेको सो गिरोहले ३ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको थियो।
अनलाइन बेटिङ एपहरू मार्फत गिरोहले ह्वाट्सएपमार्फत सम्पर्क गरी खाता खोल्न लगाई अनलाइन जुवा खेलाउने गरेको पाइएको छ। ललितपुरको सानेपास्थित दुई घर भाडामा लिएर सो समूहले जुवा खेलाउँदै आएको थियो।
यसैबीच, रुपन्देही प्रहरीले पनि मंसिर ४ मा १४ जना भारतीय नागरिकलाई अनलाइन बेटिङमा संलग्न रहेको आरोपमा पक्राउ गरिसकेको छ। पक्राउ परेकाहरू विभिन्न अनलाइन बेटिङ साइटहरू मार्फत अवैध कारोबार गरिरहेका थिए। उनीहरूको साथबाट ४० वटा मोबाइल, ३ वटा ल्यापटप र २ वटा राउटर समेत बरामद गरिएको थियो।
प्रहरीले पक्राउ परेका सबैलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ र विदेशी विनिमय ऐनअनुसार कानुनी प्रक्रिया अगाडि बढाएको छ। अनलाइन जुवा नियन्त्रणका लागि प्रहरीले निरन्तर निगरानी बढाएको जनाएको छ।
प्रतिक्रिया