नेपाली छात्राको रहस्यमय मृत्यु: भारतको उडिसास्थित विश्वविद्यालयप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण

मंगलबार, ०६ फागुन २०८१, २१ : १३

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय निधनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उक्त घटनापछि नेपाली विद्यार्थीहरूप्रति देखिएको असंवेदनशील व्यवहारको मन्त्रालयले कडा निन्दा गरेको छ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा विश्वव्यापी मान्यता विपरीत विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीहरूमाथि गरेको व्यवहार अस्वीकार्य भएको उल्लेख छ। विद्यार्थीहरूले नियमानुसार बुझाउनुपर्ने शुल्क बुझाएपछि निर्वाध रूपमा अध्ययन गर्न पाउने अधिकार कुण्ठित गर्नु निन्दनीय रहेको मन्त्रालयको धारणा छ।

उक्त घटनाको सत्यतथ्य जानकारी लिन र समाधान खोज्न शिक्षा मन्त्रालयले सोमबार नै परराष्ट्र मन्त्रालयलाई औपचारिक अनुरोध गरिसकेको जनाएको छ। साथै, भारत सरकारको ध्यानाकर्षण गराउँदै नेपाल सरकारका तर्फबाट कूटनीतिक तहमा आवश्यक पहल भइरहेको मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले विज्ञप्तिमार्फत जानकारी गराएका छन्।

विज्ञप्तिमा घटनाले नेपाली विद्यार्थी तथा अभिभावकमा गहिरो मानसिक प्रभाव पारेको उल्लेख गर्दै भारतका अन्य विश्वविद्यालयमा अध्ययनरत हजारौँ नेपाली विद्यार्थीमा समेत त्रास फैलिन सक्ने संभावनालाई दृष्टिगत गर्दै यथाशीघ्र पठनपाठनलाई पूर्ववत् सञ्चालन गराउने विषयमा भारत सरकारलाई विशेष आग्रह गरिएको छ।

मन्त्रालयले विद्यार्थी तथा अभिभावकहरूलाई संयमता अपनाउन आग्रह गर्दै अन्य विदेशी विश्वविद्यालयहरूमा समेत देखिन सक्ने शैक्षिक समस्याहरू समाधान गर्न ‘सहायता कक्ष’ स्थापना गरिएको जानकारी दिएको छ। साथै, यदि न्यायोचित समाधान नगरिएमा भविष्यमा उडिसास्थित विश्वविद्यालय तथा शिक्षण संस्थानहरूमा अध्ययनका लागि प्रदान गरिँदै आएको वैदेशिक अध्ययन अनुमतिपत्र स्थगित गर्ने विषयमा समेत मन्त्रालयले संकेत गरेको छ।

नेपाल सरकारको स्पष्ट अडानले समस्या समाधानतर्फ ठोस पहल हुने अपेक्षा गरिएको छ भने विद्यार्थीका अधिकार सुनिश्चित गर्न आवश्यक कूटनीतिक पहललाई अझै प्रभावकारी बनाउने मन्त्रालयको प्रतिवद्धता व्यक्त गरिएको छ।

मंगलबार, ०६ फागुन २०८१, २१ : १३

प्रतिक्रिया