देशभरकाे मौसममा विविधता : केही स्थानमा हिमपात, कतै घामछायाँ

बुधबार, ०७ फागुन २०८१, ०६ : १४

काठमाडौं- देशभर हाल पश्चिमी वायु र पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहँदा कोशी प्रदेशसहित देशका पहाडी भेगमा आंशिक बदली देखिएको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका केही भागमा घना हुस्सु लागेका कारण जनजीवनमा असर देखिएको छ भने बाँकी भू-भागमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशसहित पहाडी भेगमा आंशिक बदली रहनेछ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी गराएको छ।

यस्तै, रातिको समयमा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहँदा बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमानअनुसार आगामी २४ घण्टामा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले त्यहाँका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। साथै, बिहीबार बिहान तराईका केही स्थानमा हुस्सु लाग्ने अनुमान गरिएको छ, जसले यातायात, हवाई उड्डयन, स्वास्थ्य तथा जनजीवनमा आंशिक प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

बुधबार, ०७ फागुन २०८१, ०६ : १४

प्रतिक्रिया