सुदूरपश्चिममा एचपिभी खोप अभियान : ९५ प्रतिशत किशोरीलाई खोप

बुधबार, ०७ फागुन २०८१, ०६ : २०

काठमाडाैं- सुदूरपश्चिम प्रदेशका एक लाख ४३ हजार चार सय ८९ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय, दीपायल, डोटीका सूचना अधिकारी धर्मानन्द गिरीका अनुसार यो निर्धारित लक्ष्यको ९५ प्रतिशत हो।

निर्देशनालयले प्रदेशका नौ वटै जिल्लाका एक लाख ५१ हजार ५९ किशोरीलाई खोप दिने लक्ष्य राखेको थियो। कैलालीमा ४५ हजार ८८८, कञ्चनपुरमा २५ हजार ८४०, डोटीमा ११ हजार ३८८, अछाममा १३ हजार ८९७, डडेलधुरामा छ हजार ९४९, बझाङमा ११ हजार ८९७, बाजुरामा सात हजार ६४९, बैतडीमा १२ हजार ८२८ र दार्चुलामा सात हजार १५३ किशोरीलाई खोप लगाइएको छ।

गत माघ २२ गतेदेखि देशव्यापी रूपमा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन गरिएको हो, जुन यही फागुन ७ गतेसम्म जारी रहनेछ। अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरुलाई खोप दिइएको छ भने विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई समेत समेटिएको छ।

यो महत्त्वपूर्ण अभियानले किशोरीहरूको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

बुधबार, ०७ फागुन २०८१, ०६ : २०

प्रतिक्रिया