प्रधानमन्त्री ओलीद्वारा राससको भूमिकाको प्रशंसा, सुधारका लागि प्रतिबद्धता

बुधबार, ०७ फागुन २०८१, ०६ : २५

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समाचार समिति (रासस) को सेवा विविधिकरणले यसको औचित्य थप मजबुत बन्दै गएको बताएका छन्। राससको ६४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले व्यवस्थापक, पत्रकार, कर्मचारी तथा सेवाग्राहीहरूलाई बधाई ज्ञापन गर्दै, संस्थाको कानुनी तथा संरचनात्मक सुधारमा सरकारको आवश्यक पहल रहने प्रतिबद्धता व्यक्त गरे।

परिवर्तित सन्दर्भमा सत्य, विश्वसनीय र आधिकारिक समाचार प्रदान गर्ने दायित्व अझै बढ्दै गएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, “सूचना–प्रविधिको विकाससँगै आमसञ्चार क्षेत्रमा गुणात्मक फड्को मारिएको छ। राससले श्रव्यदृष्य सेवा, मातृभाषा समाचार, सांसदसँग संवाद, आलेख तथा विचारजस्ता विविध सेवा विस्तार गरेर आफ्नो औचित्य थप स्थापित गराएको छ।”

प्रधानमन्त्री ओलीले मुलुकको हरेक राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनका साक्षीका रूपमा राससको भूमिकालाई वर्तमान आवश्यकताअनुसार अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। सेवा प्रवाहमा छिटो, व्यावसायिक र गुणस्तरीयता कायम राख्दै सरकार र आमजनताबीच सेतुको रूपमा प्रस्तुत हुनुपर्ने उनको भनाइ छ।

“भ्रामक तथा मिथ्या सूचना समाजमा विद्वेष, विवाद र अस्थिरता फैलाउने खतरासँगै आएका छन्। यस्तो अवस्थामा सत्यतथ्य समाचार प्रवाह गर्दै समाजलाई सही दिशामा डो-याउन राससले अग्रणी भूमिका खेल्नुपर्छ,” प्रधानमन्त्री ओलीले उल्लेख गरे।

विकास, समृद्धि र स्थिरताका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताउँदै उनले अघिल्लो कार्यकालमा सुरु गरिएका परियोजनाहरू तीव्र गतिमा अगाडि बढिरहेको उल्लेख गरे। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार पूर्ण रूपमा निष्ठावान रहेको र व्यवहारमै त्यसलाई प्रमाणित गरिरहेको प्रधानमन्त्रीको भनाइ छ।

“राष्ट्रको अभिभारा पूरा गर्ने लक्ष्यसहित अघि बढिरहेका छौँ। स्पष्ट दूरदृष्टि, नीतिगत योजना र कार्यान्वयनका लागि आवधिक लक्ष्यसहित हामी दृढतापूर्वक अघि बढिरहेका छौँ,” प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले राष्ट्रका महत्त्वपूर्ण अभिभाराहरू पूरा गर्न राससको भूमिकालाई अनिवार्य ठहर गर्दै सामाजिक परिवर्तन, सुशासन, विकास र पारदर्शितालाई जनतासम्म पुर्‍याउने कार्यमा यसको महत्त्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरे।

बुधबार, ०७ फागुन २०८१, ०६ : २५

प्रतिक्रिया