काठमाडाैं- राष्ट्रिय जीवन बीमा कम्पनीले नयाँ जीवन बीमा अभिकर्ताहरू उत्पादन तथा प्रशिक्षणका लागि विशेष तालिम सञ्चालन गर्ने घोषणा गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै आउँदो फागुन २५ देखि फागुन २७ गतेसम्म काठमाडौंको दरबारमार्गस्थित उडल्यान्ड होटलमा तालिम सञ्चालन गरिने जनाएको छ।
उक्त तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूले ५०० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। प्रशिक्षार्थीहरूले नेपाल नागरिकताको प्रमाणपत्र, प्लसटु वा सोभन्दा माथिको शैक्षिक प्रमाणपत्र, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो तथा प्यान नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
जीवन बीमा क्षेत्रमा आफ्नो करिअर बनाउन चाहनेका लागि यो तालिम सुनौलो अवसर हुने कम्पनीको दाबी छ। बीमा क्षेत्रमा आवश्यक ज्ञान, सीप तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिने उक्त तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूले राष्ट्रिय जीवन बीमा कम्पनीको प्रधान कार्यालय वा विभिन्न शाखा कार्यालयहरूमा सम्पर्क गरी विस्तृत जानकारी लिन सक्नेछन्।
यस तालिमबाट नयाँ अभिकर्ताहरूलाई जीवन बीमा व्यवसायको आधारभूत ज्ञान, ग्राहकसँग सम्बन्ध स्थापित गर्ने कौशल तथा बीमा योजनाहरूको प्रभावकारी विक्री कला सम्बन्धी प्रशिक्षण दिइनेछ। बीमा व्यवसायलाई अझ व्यावसायिक बनाउँदै आर्थिक समृद्धितर्फ उन्मुख गराउने लक्ष्यका साथ आयोजना गरिन लागेको यो तालिम बीमा क्षेत्रमा प्रवेश गर्ने इच्छुकहरूमाझ निकै लोकप्रिय हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया