काठमाडाैं- आठौँ ‘इण्डियन ओसन कन्फ्रेन्स’ तथा द्विपक्षीय बैठकहरूमा सहभागी हुन ओमान भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको उपस्थितिमा ओमानलगायत खाडी समन्वय परिषद्स्थित नेपाली नियोगका प्रमुखहरूसँग महत्त्वपूर्ण छलफल सम्पन्न भएको छ।
ओमानस्थित नेपाली राजदूतावासको आयोजनामा भर्चुअल माध्यमबाट सम्पन्न बैठकमा नेपाली श्रमिकको सुरक्षा, उद्धार, सहायता, स्वदेश फिर्ती, बिमा तथा क्षतिपूर्ति, आश्रयस्थल व्यवस्थापन, शव व्यवस्थापनलगायतका विषयमा विस्तृत छलफल गरिएको थियो। प्रभावकारी सेवा प्रवाहमा देखिएका चुनौतीहरू र समाधानका उपायहरूबारे समेत गम्भीर संवाद भएको छ।
बैठकमा आर्थिक, सांस्कृतिक तथा सार्वजनिक कूटनीतिका विविध आयामहरू, व्यापार, लगानी, पर्यटन, भाषा, वेशभूषा, रोजगार प्रवर्द्धन, नेपाली समुदाय तथा सामाजिक सङ्घसंस्थासँगको सहकार्यलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा गहन विचारविमर्श भएको थियो। छलफलका क्रममा प्राप्त सुझावहरूलाई समेटी परराष्ट्र मन्त्रालय र अन्य सरोकारवाला निकायहरू समक्ष आवश्यक सिफारिसहरू गर्ने निर्णय गरिएको छ।
परराष्ट्रमन्त्री देउवाले सरकारको प्राथमिकता वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, मर्यादित तथा भरपर्दो बनाउनु रहेको बताउँदै यस महत्त्वपूर्ण उद्देश्य हासिल गर्न विदेशी नियोगहरूको भूमिका निर्णायक हुने उल्लेख गरिन्। साथै, वैदेशिक रोजगारीलाई आकर्षक बनाउँदै श्रमिकका दीर्घकालीन समस्याहरू समाधान गर्न सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारिन्।
सूचना प्रविधि र डिजिटल सुशासनलाई प्रवर्द्धन गर्ने सरकारको नीतिअनुरूप परराष्ट्रमन्त्री देउवाले मागपत्र प्रमाणीकरणलगायत नियोगका सेवा प्रवाहलाई सरल, पारदर्शी, मितव्ययी र प्रविधिमैत्री बनाउन विशेष निर्देशन दिइन्। आर्थिक कूटनीतिको प्रभावकारी कार्यान्वयनका लागि नेपाली नियोगहरूले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै, कुनै अवरोध आएमा परराष्ट्र मन्त्रालय तत्पर रहेको उनले स्पष्ट पारिन्।
बैठकपछि परराष्ट्रमन्त्री देउवाले ओमानस्थित नेपाली सङ्घसंस्थाका प्रतिनिधिहरू, स्वयंसेवक तथा नेपाली समुदायका अगुवाहरूसँग अन्तरक्रिया गरिन्। उनले नेपाली श्रमिकहरूका हकहित, सेवासुविधा सुरक्षा तथा प्रवर्द्धनका लागि सरकार निरन्तर नीतिगत, संस्थागत तथा कानुनी सुधारमा संलग्न रहेको जानकारी गराइन्। साथै, प्रवासमा रहेका नेपालीहरूसँग सहकार्य गर्दै नेपालको छवि उज्ज्वल बनाउन आग्रह गरिन्।
परराष्ट्रमन्त्री देउवा तथा उनी नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले रात्रिभोजको आयोजना गरेका थिए। भ्रमण सफलतापूर्वक सम्पन्न गरी परराष्ट्रमन्त्री देउवा आज स्वदेश फर्कने कार्यक्रम रहेको छ।
प्रतिक्रिया