लुम्बिनी प्रदेशसभाको पाँचौँ अधिवेशन सम्पन्न, दुई विधेयक पारित

बुधबार, ०७ फागुन २०८१, ०८ : ३७

काठमाडाैं- लुम्बिनी प्रदेशसभाको पाँचौँ अधिवेशन औपचारिक रूपमा सम्पन्न भएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम फागुन ६ गते राति १२:०० बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन्।

गत पुस १६ गतेदेखि सुरु भएको यो अधिवेशनमा ११ पटक बैठक बसेका थिए। प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरका अनुसार अधिवेशनमार्फत लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विधेयक र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक पारित गरिएको छ।

यसअघि प्रदेश प्रमुखले प्रमाणीकरण नगरी फिर्ता पठाएका प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक तथा स्थानीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका शर्तसम्बन्धी विधेयक पनि अधिवेशनले पारित गरेको थियो।

लुम्बिनी प्रदेशसभाको यस अधिवेशनले महत्त्वपूर्ण विधायी कार्य सम्पन्न गर्दै प्रदेशको प्रशासनिक र वित्तीय व्यवस्थालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

बुधबार, ०७ फागुन २०८१, ०८ : ३७

प्रतिक्रिया