फाइल फाेटाे
काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्नु वर्तमानको प्रमुख कार्यभार भएको बताएका छन्।
७५औँ प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई बधाई व्यक्त गरेका छन्। लोकतन्त्र स्थापनाका लागि ज्यानको आहुति दिने वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले लोकतन्त्रको रक्षा गर्नु सबै नेपालीको साझा दायित्व रहेको स्मरण गराएका छन्।
अध्यक्ष नेपालले मुलुकलाई निरङ्कुश, जहानियाँ र तानाशाही व्यवस्थाबाट मुक्त गर्दै लोकतान्त्रिक शासनको शुभारम्भ भएको यो ऐतिहासिक दिन गौरवपूर्ण रहेको उल्लेख गरे। जनताको संघर्ष र सहिदहरूको बलिदानबाट लोकतन्त्रको जग मजबुत बनेको भन्दै उनले लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले निरङ्कुशता परास्त गरेका नेपाली जनताले अब गरिबी, बेरोजगारी, पछौटेपन, विभेद र कुरीतिका विरुद्ध संघर्ष गर्नुपर्नेमा जोड दिएका छन्। साथै, नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र लोकतन्त्रको रक्षामा योगदान दिने सम्पूर्ण राष्ट्रप्रेमीहरूलाई सम्मान व्यक्त गर्दै, प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय सङ्कल्प गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया