बीमा कम्पनी अभिभा इन्डियामाथि ७५ लाख डलर जरिवाना, कर छलीमा मुछियो

बुधबार, ०७ फागुन २०८१, ०९ : ०१

काठमाडाैं- बेलायती लगानीको बीमा कम्पनी अभिभा को भारतीय शाखा कर छली प्रकरणमा फसेपछि भारतीय कर अधिकारीहरूले ७५ लाख अमेरिकी डलर (६५ करोड १६ लाख भारूभन्दा बढी) कर तथा जरिवाना तिर्न निर्देशन दिएका छन्। फर्जी कारोबार र नक्कली बिलबिजक प्रयोग गरेको प्रमाणित भएपछि यो कारबाही गरिएको हो।

रोयटर्सले फेब्रुअरी ५ मा समीक्षा गरेको आदेशअनुसार, २०१७ देखि २०२३ सम्म अभिभा इन्डियाले कथित बजारीकरण सेवाका बिक्रेताहरूलाई करिब २ करोड ६० लाख अमेरिकी डलर भुक्तानी गरेको देखिएको छ। तर, अनुसन्धानले यी बिक्रेताहरू वास्तवमा अवैध रूपमा अभिभाका अभिकर्ताहरूलाई नियामकीय सीमाभन्दा बढी कमिशन दिन मात्र प्रयोग गरिएका बुख्याँचा कम्पनीहरू भएको खुलासा गरेको छ।

नक्कली बिलबिजक र नगद लेनदेनमार्फत, अभिभाले ५२ लाख अमेरिकी डलर बराबरको अवैध कर छुट समेत दाबी गरेको पाइएको छ। अनुसन्धानपछि, संयुक्त कर आयुक्त आदित्य सिंह यादव ले अभिभाले जानाजानी भारू ३२ करोड ६० लाख (३८ लाख अमेरिकी डलर) कर छली गरेको ठहर गर्दै सोही अनुपातमा जरिवाना लगाएका छन्, जसले कुल रकम भारू ६५ करोड ३० लाख पुगेको छ।

फैसलापछि अभिभा इन्डियाले निर्णयप्रति असहमति जनाउँदै पुनरावेदन गर्ने तयारी गरेको जनाएको छ। साथै, कम्पनीले यस आदेशले आफ्नो सेवा प्रवाहमा कुनै असर नपर्ने दाबी गरेको छ। यो घटनाले भारतमा कार्यरत विदेशी लगानीकर्ताहरूका लागि नियामकीय कठोरता बढ्ने सङ्केत गरेको छ भने, कर छली तथा फर्जी कारोबारविरुद्ध सरकारी निकायहरूको चनाखोपन थप बलियो बनेको देखिएको छ।

बुधबार, ०७ फागुन २०८१, ०९ : ०१

प्रतिक्रिया